काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
प्रधानमन्त्रीले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सहितका दलहरूलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रतिनिधिसभामा फेरि विश्वासको मत प्राप्त गरेका प्रचण्डले नौ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
तर अझै पनि मन्त्रिपरिषद्ले पूर्णता भने पाइसकेको छैन । प्रधानमन्त्री प्रचण्डले ५ वटा मन्त्रालय भने आफैसँग राखेका छन् । जसमा कानुन न्याय तथा संसदीय,परराष्ट्र, युवा तथा खेलकुद,वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै रहेका छन् ।
सुरुमा एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले राष्ट्रपति निर्वाचनपछि गठबन्धन फेरेर नेपाली कांग्रेससहितको गठबन्धनमा आएपछि आज मन्त्रिपरिषद् विस्तार र हेरफेर गरेका हुन् ।
यसअघि उपप्रधानसहित भौतिक मन्त्रालयको जिम्मेवारी पाएका माओवादी नेता नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी कांग्रेस नेता पूर्ण बहादुर खड्काले पनि उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नेकपा एकीकृत समाजवादीका डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी, जसपाका अशोक राई शिक्षा, लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार,कांग्रेसका डा। प्रकाशसरण महत अर्थ, नेसपाका महिन्द्र राययादव महिला बालबालिका, माओवादीका शक्ति बस्नेत ऊर्जा तथा जलश्रोत, एकीकृत समाजवादीका प्रकाश ज्वाला, भौतिक योजना, नागरिक उन्मुक्तीका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, कांग्रेसका रमेश रिजाल उद्योग र कांग्रेसकै सिता गुरुङले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
माओवादीका चार मन्त्री पुरानै मन्त्रालयको जिम्मेवारीमा रहेका छन् । नारायणकाजी श्रेष्ठ भने भौतिकबाट गृहमा पुगेका छन् । नयाँ मन्त्रीहरुको आजै शपथ ग्रहण हुँदैछ ।
पूनर्गठित मन्त्रिमण्डलमा नेपाली कांग्रेसले ४, एकीकृत समाजवादी २, जसपा १, लोसपा १ र नेपाल समाजवादी पार्टीले १ मन्त्रालय पाएका छन् । यद्यपि जनमतका खानले खानेपानी मन्त्रीमा चित्त नबुझाएर राजीनामा दिएका छन् ।











