Logo
Logo

नारायणकाजी श्रेष्ठ बने दोस्रोपटक गृहमन्त्री


4.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो पटक गृहमन्त्री बनेका छन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल हेरफेर गर्दै पुर्नगठन गरेका छन् । सोक्रममा श्रेष्ठलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको छ ।

श्रेष्ठ यसअघि उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । चितवन–२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि गृह मन्त्रालय प्रधानमन्त्रीले नै राख्दै आएका थिए ।

यसअघि पनि श्रेष्ठ परराष्ट्र र गृहमन्त्री भइसकेका छन् । हाल राष्ट्रियसभा सदस्य रहेको श्रेष्ठ ४० को दशकदेखि नेपाली राजनीतिमा सक्रिय छन् । तत्कालीन नेकपा एकता केन्द्रका महासचिवसमेत रहेका श्रेष्ठले माओवादीसँगको एकीकरणपछि पटक–पटक महत्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन् ।

२०७४ को निर्वाचनमा गोरखा–२ बाट चुनाव लडेका थिए । तर, वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसँग पराजित भए । २०७४ मा गोरखा–२ मा चुनाव हारेपछि उनको संसद प्रवेशको ढोका बन्द भएको थियो ।

लामो समय भूमिगत राजनीतिमा सक्रिय भएका श्रेष्ठ पहिलोपटक २०६८ साउन १६ झलनाथ खनालको नेतृत्वमा गृहमन्त्री भएका थिए भने २०६८ भदौ १८ गते परराष्ट्र मन्त्री भएका थिए । त्यसबेला उनी संविधानसभामा मनोनीत सदस्यका हैसियतमा प्रवेश गरेका थिए । संविधानसभामा रहँदा उनी दुईपटक मन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस्