Logo
Logo

मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय


1.5k
Shares

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितको समस्या समाधान गर्ने गरी सरकारले विधेयक तयार पारेको बताएका छन् ।

आज (शुक्रबार) शपथ लगत्तै सिंहदरवार पुगेर पदभार ग्रहण गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सो जानकारी दिएका हुन् । मिटरब्याज पीडितको समस्या समाधानको गर्न मन्त्रिपरिषद्ले कानुन संशोधन गर्ने गरि विधेयक तयार पारेर अगाडि बढाइसकेको उनले जानकारी दिए । 

उनले भने, ‘अहिलेको एउटा मुख्य समस्या मिटरब्याजको समस्या छ । त्यो मिटरब्याज पीडितहरूलाई न्याय दिन र आजको लोकतान्त्रिक नेपालका सामन्तवादका अवशेषहरू जुन रुपमा देखा पर्दै छन् । त्यसलाई समाधान गर्न मन्त्रिपरिषद्ले कानुनलाई केही संशोधन गर्ने गरी विधेयक तयार पारेर अगाडि बढाइसकेको छ ।’

मिटरब्याज पीडितको समस्या समाधान गर्नको लागि आयोग गठन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लाने पनि उनले जानकारी दिए । त्यो आयोगको नामावली मन्त्रिपरिषद् बैठकमा पेश गर्ने उनको भनाइ छ ।

उनले भने, ‘एउटा सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने प्रस्ताव हामीले गरेका छौँ । त्यो आयोगको नामावलीसहित मन्त्रिपरिषद्मा पेश गर्ने छौँ । त्यसले सम्पूर्ण अनुसन्धान गरेर यो प्रक्रियालाई निरोपण गर्न र न्याय दिन प्रभावकारी भूमिका खेल्ने छ ।’

यतिबेला मधेश प्रदेशका मिटरब्याज पीडितहरू काठमाडौं आएर न्याय माग्दै आन्दोलन गरिरहेका छन् । पीडितहरूसँग छलफल गर्न गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । 

उक्त टोलीले पीडितहरूसँग हिजो (बिहीबार) र आज (शुक्रबार) दुई चरणमा वार्ता गरिसकेको छ । वार्ता सकारात्मक भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्