Logo
Logo

नतिजामुखी काम गर्ने मन्त्री बस्नेतकाे प्रतिबद्धता


1k
Shares

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् ।

सिंहदवारस्थित मन्त्रालयमा शुक्रबार पदवहालीका क्रममा उनले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै मुलुक र जनतालाई लाभ हुने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे । उनले सबैको विज्ञताको भरपुर सदुपयोग गर्दै मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी र नतिजामुखी बनाइनुपर्नेमा जोड दिए ।

ऊर्जा मन्त्री बस्नेतले मुलुकको विकासका निम्ति ऊर्जाको विविध आयामको अवसरको भरपुर सदुपयोग गर्न जरुरी रहेको भन्दै उक्त प्रयोजनका निम्ति नीतिगत र संरचनागत सुधार गरिने विश्वास व्यक्त गरे । उनले भने, ‘देशको समृद्धिले नागरिकको जीवनस्तरमा सुधार ल्याउनुपर्छ । मानिसमा पैदा भएको निराशालाई आशावादी बनाउने ढङ्गले परिणाममुखी काम गर्न जरुरी छ ।’

मन्त्री बस्नेतले मुलुक विशिष्ट परिस्थितिमा रहेकाले विशिष्टीकृत ढङ्गले काम गर्न जरुरी रहेको खाँचो औँल्याए । ‘मानिसमा आशावाद जगाउन जरुरी छ । मुलुकको आवश्यकताका आधारमा ‘टिम स्पिरिट’ का साथ इमानदारीपूर्वक काम गर्न सबै सक्रिय हुनुपर्छ’, उनले भने ।

ऊर्जा मन्त्री बस्नेतले पद बहालीसँगै पहिलो निर्णयका रूपमा विश्व मौसम सङ्गठन (डब्लुएमओ) बाट विकास भई मन्त्रालयमा रहेको ‘साउथ एसिया फ्लास फ्लड गाइडेन्स सिस्टम’ तथा डब्लुएमओसँग सम्बन्धित कार्यका लागि समन्वय र सहकार्य गर्न सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेका छन् । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखालाई फोकल शाखा र उक्त शाखाका सी।डि। हाइड्रोलोजी सुनिल पोखरेललाई नेशनल फोकल प्वाइन्ट तोक्ने निर्णय गरिएको छ ।

ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले अनुभवी र निर्भीक मन्त्री पाएको भन्दै मन्त्रीको स्पिरिटमा मन्त्रालयको कामलाई नतिजामुखी बनाउन हर सम्भव प्रयास गर्ने विश्वास व्यक्त गरे । उनले मन्त्रालय मातहत निकायको कामलाई प्रभावकारी समन्वयका साथ अघि बढाउने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्