Logo
Logo
कला

‘धाननाच र केलाङमा मलाई रुची छ’



झापा, लक्ष्मीपुर (पुर्खौली तेह्रथुम)की भिनुमा पाहिम लिम्बू ‘एयर होस्टेस’ बन्न चाहन्छिन् । काठमाडौंमा शनिबार सम्पन्न ‘सम्मान मिस लिम्बू-२०७९’को उपाधि जितेपछि भिनुमाले भनिन्, ‘एयर होस्टेस बन्ने मेरो सानैदेखिको इच्छा छ ।’ याक्थुङ युथ एशोसिएनद्वारा आयोजित ‘मिस लिम्बू’को छैटौं संस्करणमा १७ जना आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै भिनुमाले शीर्ष ताज पहिरिएकी हुन् ।

‘मिस लिम्बू’को उपाधि पाएसँगै आफूमा थप जिम्मेवारी बढेको उनको भनाइ । ‘मैले अब आफ्नो कम्युनिटीका लागि केही गर्नुपर्छ । लिम्बू समुदाय कला र संस्कृतिमा धनी छ’ उनले भनिन्, ‘ती कला, संस्कृति र भेषभूषा एवं गरगहनाको सम्वद्र्धन र संरक्षण गर्न आवश्यक छ । मेरो ध्यान अब त्यसमै केन्द्रित गर्नेछु ।’ होटल मेनेजमेन्ट र क्याविन क्रुकी विद्यार्थी २० वर्षीया भिनुमाले ‘मिस नेपाल’मा प्रतिस्पर्धा गर्ने लक्ष्य लिएकी छन् । ‘मिस लिम्बू-२०७९’की विजेता भिनुमा लिम्बूसँग एमपी सुब्बाको जम्काभेट ;

‘मिस लिम्बू’को उपाधि जित्नुभएको छ । कस्तो अनुभव भइरहेको छ ?
–एकदमै एक्साइटेड भएकी छु । मेरो एउटा सपना पूरा भएको महशुस गरिरहेकी छु ।
कतिको बधाई आइरहेको छ नि ?
‘मिस लिम्बू’ विनर भएको घोषणा भएदेखि लगातार फोन र म्यासेसमा बधाईका सन्देशहरु आइरहेको छ । मलाई बधाई दिने सबैलाई रिप्लाई समेत दिन भ्याएकी छैन ।

तपाइँलाई ‘मिस लिम्बू’ प्रतियोगिताबारे कहिलेदेखि जानकारी थियो ?
प्रतियोगिताको बारेमा सुरुबाटै थाहा थियो । तर, जब सन् २०१७ मा अविशा फुदोङले ‘मिस लिम्बू’को उपाधि जित्नुभयो, त्यसपछि मलाई पनि यो प्रतियोगितामा सहभागी हुने इच्छा जागेको हो ।

सौन्दर्य प्रतियोगितामा भाग लिएको यो तपाइँको पहिलो अनुभव हो ?
होइन, यो मेरो तेस्रो अनुभव हो । यसअघि झापामै ७ कक्षामा पढ्दै गर्दा ‘मिस पाथीभरा’ र ‘मिस लिटिल क्वीन–२०१६’मा सहभागी भएकी थिएँ । म ती दुइवटै प्रतियोगितामा विनर भएकी थिएँ ।

सौन्दर्य प्रतियोगितामा ह्याट्रिक गर्नुभएछ । ‘मिस लिम्बू’को उपाधि कसरी जिते भन्ने लागिरहेको छ ?
हामी १८ जना प्रतियोगी थियौँ । सँगै ट्रेनिङ गर्दै आयौँ । सबैजना ट्यालेन्ट पनि थिए । त्यसमा मैले जितेँ । निर्णायकहरुको प्रश्नमा म सरल भाषामा जवाफ दिन्थेँ । सरल भाषा सबैले बुझ्थें । र, मेरो मिहिनत, लगनशीलता र आत्मविश्वासले पनि उपाधि जित्न सफल भएँजस्तो लाग्छ ।

‘मिस लिम्बू’मा सहभागी भएर के सिक्नुभयो ?
टाइटल नै मिस लिम्बू छ । यो प्रतियोगितामा सहभागी भएपछि आफ्नो भाषा, संस्कृति, संस्कार, भेषभुषा र गर–गहनाहरुबारे थप ज्ञान पाएँ । लिम्बू समुदायको कल्चर धाननाच र च्याब्रुङ नाचबारे धेरै कुरा जान्न र सिक्न पाएँ । लिम्बू समुदायमा च्याब्रुङको विशेषता महत्व छ । त्यसबारे जान्न पाउँदा मलाई रोचक लाग्यो ।

धाननाच र च्याब्रुङ (केलाङ) नाच्नुभएको छ कि छैन ?
लिम्बूहरुको विवाह समारोहरुमा च्याब्रुङ नाचेको देखेकी छु । आफैंचाहिँ नाचेको छैन । धाननाचको कुरा गर्दा केही विवाहमा सोल्टीहरुले धान नाचौँ भनेर तानेपछि अलिअलि नाचेको छु । तर, मलाई पालाम आउँदैन । पछिल्लो हाम्रो पुस्ताले धाननाच र च्याब्रुङ बिर्सन थालें । मलाई चाहीँ धाननाच र केलाङमा रुची छ । यी हाम्रो मौलिक कला र संस्कृतिको प्रवद्र्धन र संरक्षण गर्न आवश्यक छ ।

‘मिस लिम्बू’ उपाधि जितेपछि अब तपाइँको जिम्मेवारी के हुनुसक्छ ?
–मेरो जिम्मेवारी भनेकै लिम्बू कम्युनिटीको कल्चर, भेषभूषा र कला साहित्यको प्रवद्र्धन गर्नु हो । जसरी हुन्छ, लिम्बू समुदायमा पनि विशेषगरी युथहरुमा आफ्नो कला र संस्कृतिबारे जानकारी गराउन शोेसल मिडियालगायतबाट पहल गर्नेछु ।

तपाइँको रुची र लक्ष्य के हो ?
मेरो अध्ययन होटल मेनेजमेन्ट र क्याविन क्रुको विषय भएकाले एयर होस्टेस बन्ने इच्छा र रुची छ । एयर होस्टेस मेनेजमेन्टसँग नै सम्बधित छ । र, अहिले भर्खरै मिस लिम्बूको ताज जितेकी छु । र, केही समयपछि ‘मिस नेपाल’मा सहभागिता जनाउने इच्छा छ किनकि, ‘मिस नेपाल’ सौन्दर्य प्रतियोगिताहरुमा लार्जेस्ट प्लेटफार्म मानिन्छ ।

एयर होस्टेस नै बन्ने रुचीचाहिँ किन ?
मलाई च्यालेन्जिङ काम गर्न मनपर्छ । एयर होस्टेस एउटा च्यालेन्जिङ जागीर हो । अर्को कुरा देश–विदेश पनि घुम्न पाइने भएकाले एयर होस्टेज बन्न इच्छा जागेको हो ।

मोडलिङ र फिल्मी अभिनयमा रुची छ कि छैन ?
मलाई मोडलिङमा रुची छैन । फिल्म अभिनय पनि मोडलिङजस्तै हो । यदि मोडलिङ र अभिनयका लागि प्रस्ताव आइहालेमा त्यतिखेरै सोच विचार गर्न सक्छु । तर, मोडलिङ र अभिनय नै लक्ष्य बनाउँदिन ।

व्यक्तिगत कुरा गरौँ, तपाइँलाई प्रेम प्रस्ताव कतिको आउँछ ?
प्रेम प्रस्ताव आइरहेको हुन्छ । त्यतिधेरै पनि होइन, अलिअलि आउँछ । तर, मेरो ध्यान करिअरमै केन्द्रित छ । त्यसैले प्रेम प्रस्तावको वास्तै गर्दिन ।

तपाइँलाई अन्तिम प्रश्न, अन्तरजातीय विवाहलाई कसरी लिनुहुन्छ ?
अन्तरजातीय विवाहलाई म पूर्णरुपमा समर्थन गर्दिनँ । यदि, प्रेम भएरै विवाह भएको खण्डमा त्यो कसैले रोक्न सक्दैन । प्रेममा त्यो हुन्छ । तर, म चाहिँ आफ्नो समुदायका केटासँग विवाह गर्ने सोच बनाएकी छु । हेरौँ, त्यो पनि समयले निर्धारण गर्ने कुरा हो ।

प्रतिक्रिया दिनुहोस्