Logo
Logo

मन्त्री किराती भन्छन् : पशुपति क्षेत्र विकास कोषका पदाधिकारी जता कमिसन उतै लाग्ने रैछन्



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन् । शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् ।

मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको भन्दै पशुपति क्षेत्र परिसरमा सफाई गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरुले पशुपति क्षेत्र विकास कोष जताबाट कमिशन आउँछ, त्यतै लाग्ने गरेको बताएको उनको भनाई थियो ।

‘पशुपतिनाथ सरसफाई पनि पर्यटक बढाउनका लागि हो । यसको ठूलो उद्देश्य छ । आज म धेरै नै फोहोरमा पसेको छु । साथीहरूले डाँडाडाँडा सफा गरेर हिँड्थ्यो । प्लाष्टिक मात्रै भेटिन्थ्यो । आज चाँही धेरै नै फोहोर देखेर म आफैं पनि साह्रै लज्जित भएर फर्केको छु’, उनले भने ।

पशुपतिनाथमा जाने दर्शनार्थीहरुले ट्वाईलेट आफूलाई सोधेको र आफू पनि ट्वाईलेट खोज्दै हिँड्नुपर्ने अवस्था आएको उनले बताए । ‘पर्यटनको पहिलो आधार भनेकै सरसफाई हो । जहाँ हामी सफाई नै गर्दैनौं । धेरै मानिसहरूले आज मलाई ट्वाईलेट कता भनेर सोध्यो पशुपतिनाथमा । म आफैं ट्वाईलेट खोजी हिँडदै थिएँ । कति गाह्रो छ । हामी चौतर्फी पर्यटनमा एउटा कम्पन ल्याउनका निम्ति कोसिस गर्दैछौं । त्यसमा यो पनि एउटा आधार भएको छ’, उनले भने ।

मन्त्री किरातीले पर्यटनको पहिलो आधार सरसफाई भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाईमा गएको तर त्यहाँ धेरै फोहोर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्