काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी सबभन्द ठुलो पार्टी बन्ने दाबी गरेका छन् ।

रास्वपाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरुले व्यक्ति होइन, प्रणाली केन्द्रित पार्टी बनाएको पनि बताए ।
रास्वपा सबभन्दा ठूलो तथा लोकतान्त्रिक पार्टी बन्ने र बहुमत र दुई तिहाइको सरकार बनाउने उनको भनाई थियो ।
यस्तै, प्रचण्ड सरकारले अघिल्लो पटक बनाएको न्यूनमत साझा कार्यक्रममा अधिकांश आफ्नो दलको वाचापत्रका एजेण्डाहरु समावेश भएको र त्यो कार्यान्वयनका लागि सरकारमा गएको बताए । अहिले पनि सरकारको नीति तथा कार्यक्रमलाई हेर्ने भन्दै जुनसुकै समयमा भएको भ्रष्टाचारको छानबिन गर्ने भन्ने सुटुक्क हटेको उनको भनाई थियो ।
‘भ्रष्टाचारीलाई समाउँछौं नै भन्दैन भने त्यस्तो सरकारमा हामी जान सक्दैनौं’, उनले भने । उपचुनाव सकिँदासम्म सरकारको न्यूनमत साझा कार्यक्रम कार्यक्रम आउने र चुनावपछि बसेर निर्णय लिने उनको भनाई छ ।
रास्वपाले कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्ले तनहुँ १ र पूर्व डीआईजी रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाउने घोषणा गरेको छ ।











