
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन् । गत पुस १० गते एमालेसँगको सहकार्यमा सरकारको नेतृत्व सम्हालेका उनले तीन महिनामा सातौपटक मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
राष्ट्रपति निर्वाचनको समय एमालेसँगको सहकार्य तोडेपछि १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा थियो । मन्त्री नहुँदा मन्त्रायलयका कामकाज प्रभावित भएको थियो ।
शुक्रबार प्रचण्डले दस दलीय गठबन्धनमा आबद्ध दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरे पनि पूर्णता दिन भने सकेनन् । अझै पाँच मन्त्रालयको जिम्मेवारी उनकै काँधमा छ । शुक्रबार १२ नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ खाएका थिए । जसमा ५ नयाँ अनुहार समेटिएका छन् ।
जसमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल, एकीकृत समाजवादीकै प्रकाश ज्वाला, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, कांग्रेसका रमेश रिजाल र सीता गुरुङ पहिलोपल्ट मन्त्री बनेका हुन् ।
डा. वेदुराम भुसाल : कृषिमन्त्री
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष डा. वेदुराम भुसाल कृषि तथा पशुपक्षी मन्त्री बनेका छन । राष्ट्रिय सभा सदस्य समेत रहेका भुसाल पहिलोपल्ट मन्त्री बनेका हुन् ।
नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भुसाल पार्टीभित्र वैचारिक नेताको रुपमा चिनिन्छन् । नेता भुसालको जन्मस्थल अर्घाखाँची हो । अर्घाखाँचीको हर्रे–बर्रे आन्दोलनको अगुवाइ गर्दै राजनीतिमा आएका भुसाल तत्कालीन नेकपा (एमाले) कपिलवस्तुको सचिव भएका थिए । त्यतिबेला सचिव पार्टीको अध्यक्ष हुने प्रावधान थियो ।
प्रकाश ज्वाला : भौतिक पूर्वाधार तथा यातायात
नेकपा एसका उपमहासचिव प्रकाश ज्वाला भौतिक, पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् । यसअघि कर्णाली प्रदेशको अर्थमन्त्री बनेका ज्वाला संघीय सरकारमा पहिलोपल्ट मन्त्री बनेका हुन् ।
उनी सल्यानबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुन् । ज्वाला १५ हजार ९११ मतको फराकिलो अन्तरले विजयी भएका थिए । उनले ३५ हजार ७०० प्राप्त गरेका थिए ।
रञ्जिता श्रेष्ठ : भूमि, व्यवस्था तथा सहकारी
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन् । कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठ पहिलोपल्ट मन्त्री बनेका हुन् ।
आम निर्वाचनमा श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गरेका थिए । अध्यक्ष श्रेष्ठ २०७२ को टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका पूर्वसांसद रेशमलाल चौधरीका धर्मपत्नी हुन् ।
रमेश रिजाल : उद्योगमन्त्री
नेपाली कांग्रेसका रिजाल पर्सा–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । ०४८ सालदेखि नै उनी प्रत्यक्ष निर्वाचन लडिरहेका छन् । सात पटक चुनाव लडेका उनी ०४८ र ०५२ को निर्वाच्नमा विजयी भएका थिए भने ०५६ सालको निर्वाचनमा भने पराजित भए ।
०६४ सालमा पुनः विजयी भएका उनी त्यसपछि ०७० र ०७४ सालको निर्वाचनमा पराजित भएका थिए । गत ४ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका जालिम मियाँ मन्सुरीलाई पाँच हजार पाँच सय ३० मतको फराकिलो अन्तरले पराजित गर्दै रिजाल विजयी भएका थिए ।
६ दशक लामो राजनीतिक संघर्ष गरेका उनी चौथोपटकको संसदीय यात्रामा मन्त्री बन्न सफल भएका हुन् । पर्साको जगरनाथपुर गाउँपालिका–५, धर्मपुर मसिहानीमा जन्मिएका रिजालले १४ वर्षकै उमेरमा म्याट्रिक (एसएलसी) गरेका थिए ।
सीता गुरुङ : सहरी विकासमन्त्री
कांग्रेस नेतृ सीता गुरुङ पनि पहिलोपटक संघीय मन्त्री बनेका हुन् । तेह्रथुम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङले १९ हजार ७०२ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रेहका गुरुङ प्रतिनिधिसभामा निर्वाचित कांग्रेसका एक्ली महिला सांसद हुन् । उनी यसअघि २०७४ मा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राज्यमन्त्रीको जिम्मेवारीमा थिए ।











