Logo
Logo

रसुवा अस्पतालले स्थानीय तहमै प्रसूति सेवा दिने



रसुवा । रसुवा अस्पताल धुञ्चेले स्थानीय स्तरमै प्रसूति सेवा दिने भएको छ । यसका लागि अस्पतालले डाक्टरको व्यवस्था गरेको र अब छिट्टै यो सेवा सुरु हुने बताइएको छ । यो सेवा सुरु भएपछि सुत्केरी हुनकै लागि काठमाडौँ जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।

रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले स्थानीय स्तरमै नियमित गर्भ परीक्षण र शल्यक्रिया सेवा दिन तयारीका सुरु गरिएको बताए । सुरक्षित प्रसूति सेवाका लागि दक्ष चिकित्सकको व्यवस्था भइसकेको र आवश्यक उपकरण धुञ्चे पुगेको उनको भनाइ छ ।

शल्यक्रियाका लागि पूर्वाधार जडान भइरहेको अस्पतालको भनाइ छ । प्रसूति सेवाका लागि निक्स साइमन इन्स्टिच्युटले चिकित्सक उपलब्ध गराएको छ । साथै बिरामीको समस्या पत्ता लगाई उपचार सेवा प्रभावकारी बनाउन अल्ट्रासाउन्ड ( भिडियो एक्स्रे) एवं डिजिटल एक्स्रे समेत सञ्चालनमा ल्याएको छ अस्पतालका सूचना अधिकारी कृपा विसुङ्खेले जानकारी दिए ।

पन्ध्र शय्या क्षमताको जिल्ला अस्पतालमा बढ्दो बिरामीको चाप धान्न अस्पताल प्रशासनले सम्बन्धित मन्त्रालय तथा विभागसँग थप स्वास्थ्यकर्मीको माग गर्दै आएको छ । अस्पतालमा गत साउनदेखि फागुनसम्म तीन हजार पाँच सयले बहिरङ सेवा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्