Logo
Logo

पाकिस्तानमा खाद्य संकट, खाना लुट्ने क्रममा २० जनाको ज्यान गयो



एजेन्सी । पाकिस्तानमा महँगीले सर्वसाधारणको जीवन कष्टकर बनेको छ । सरकार र विभिन्न संस्थाले दिएको खानेकुरा लिन र लुट्न जताततै मानिसको भीड देखिन्छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार खाद्यान्न लुटपाटका कारण भएको घटनामा पछिल्लो १० दिनमा २० जनाको ज्यान गएको छ । मार्चमा पाकिस्तानमा मुद्रास्फीति दर ३५.३७ प्रतिशत रहेको छ । पाकिस्तान सरकारले आईएमएफबाट बेलआउट प्याकेज पाउन नसकेपछि यस्तो अवस्था आएको बताइएको छ ।

शनिबार सार्वजनिक भएको सरकारी तथ्याङ्क अनुसार महिनाको आधारमा मुद्रास्फीति दर ३ दशमलव ७२ प्रतिशत रहेकोमा गत वर्षको औसत मुद्रास्फीति २७ दशमलव २६ प्रतिशत रहेको थियो । पाकिस्तानको आर्थिक उथलपुथलको मार पाकिस्तानका जनताले भोगिरहेका छन् ।

पाकिस्तानको दक्षिणी सहर कराँचीमा शुक्रबार रमजानको समयमा खाद्यान्न वितरण गर्ने कारखानामा भीडका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । पाकिस्तानको यो आर्थिक संकटका कारण जनजीवन कष्टकर बनेको छ ।

उच्च मुद्रास्फीति, घट्दो विदेशी मुद्रा सञ्चिति र फराकिलो चालु खाता घाटाले पाकिस्तानले बढ्दो आर्थिक चुनौतीहरूको सामना गरिरहेको छ।आयातमा प्रतिबन्ध लगाएर व्यापार घाटा कम गर्ने प्रयासका कारण पाकिस्तानमा बेरोजगारी संकट तीव्र गतिमा बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्