
काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
पत्रकारलाई प्रतिक्रिया दिँदै नेता पौडेलले आगामी १० वैशाखमा हुन लागेको उपनिर्वाचनमा रास्वापका उम्मेदवार लामिछानेलाई समर्थन गर्ने बताएका हुन् ।
‘छोटो समयमा देशले रुपान्तरण खोजेको छ । त्यो रुपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ । र त्यो समूह भनेको स्वतन्त्र पार्टीहरुको समूह हो । त्यसैले उहाँहरुलाई सहयोग गर्दाखेरी देशले निकास पाउँछ भन्ने लाग्छ,’ उनले भने ।
रविले प्रतिनिधिसभा अन्तर्गत रिक्त रहेको चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् । उनले तत्काल रास्वपा प्रवेश नगर्ने र समर्थन मात्रै गर्ने बताए । यता कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।











