
चितवन । राष्ट्रिय स्वतनत्र पार्टीका सभापति रवि लामिछानेले वैशाख १० गते हुने उपनिर्वाचनबाट उत्साहित र आशावादी रहेको बताएका छन् । सभापति लामिछानेले आज (सोमबार) बिहान उम्मेदवारी दर्ता गराएसँगै उपनिर्वाचनले उत्साह र आशा थपेको बताएका हुन् ।
सभापति लामिछाने चितवन २ मा यसअघि मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताए । ‘पहिले यही प्रक्रियाबाट गएको, अहिले फेरि यही प्रक्रियामा जाँदा केही अनौठो लागेको छ,’ उनले भने, ‘राजनीतिक जीवनमा, मान्छेको जीवनमा भइरहने घटना हुन् ।’
आफूले जीवनमा यस्ता किसिमका परिस्थितिहरुको सामना गर्दा केही अनौठो लागेको बताउँदै उनले भने, ‘म एकदमै आशावादी छु, उत्साहित छु ।’ निर्वाचन कार्यालयले चितवन २ मा मनोनयन दर्ता गर्नका लागि दलहरुलाई ताकिएको समय तालिका अनुसार बिहान १० बजे उम्मेदवारी दर्ता गराएका हुन् ।
उनीसँगै चितवन २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दैछन् ।











