
काठमाडौं । समाजवादी प्रेस संगठनले ‘दूरसञ्चार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०७९’ ल्याउन लागिएकोप्रति आपत्ति जनाएको छ ।
संगठनका महासचिव भूपराज खड्काले विज्ञप्ति जारी गर्दै जोकोही व्यक्तिले टेलिफोनमा गरेका कुराकानी रेकर्ड हुनसक्ने र त्यसका निम्ति राज्यका निश्चित निकायलाई वैधानिक रुपमा अनुमति दिने काम नेपालको संविधानले सुनिश्चित गरेको गोपनीयताको हक तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको सोझै प्रहार भएको बताएका हुन् ।
उनले एकाध आपराधिक वा गैर कानुनी घटनाका नाममा भएभरका सर्वसाधारण नागरिकको गोपनीयतामाथि राज्यको नियन्त्रण कदापि स्वीकार्य नहुने चेतावनी समेत दिएका छन् ।
उनले भनेका छन्, ‘देशमा मौलाइरहेको दण्डहीनता, स्रोत नखुलेका सम्पत्तिको कारोबार, आतंकजन्य गतिविधि तथा विविध किसिमका अपराधमाथि अनुसन्धान गर्ने, मुद्दाहरूको अभियोजन गर्ने, प्रमाण सङ्कलन गर्नेजस्ता काममा हुनुपर्छ भन्नेमा हाम्रो संगठनको कुनै विमति छैन । तर, एकाध आपराधिक वा गैर कानुनी घटनाका नाममा भएभरका सर्वसाधारण नागरिकको गोपनीयतामाथि राज्यको नियन्त्रण कदापि स्वीकार्य हुँदैन ।’
त्यस्तै उनले ‘दूरसञ्चार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९’ मा उल्लेखित गोपनीयताको हक तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका सम्पूर्ण प्रावधानलाई संशोधन गर्न समेत माग गरेका छन् ।











