काठमाडौं । चर्को ब्याज असुलेको आरोपमा जनतम पार्टीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । चर्को दरमा ब्याज असुलेको र धरौटीबापत राखिएको जग्गा फिर्ता नगरेको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिका–७ का सुरेन्द्रप्रसाद शर्मालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले राजविराज–७ स्थित घरबाटै उनलाई पक्राउ गरेको हो । शर्मा जनमत पार्टीका पूर्व जिल्ला इन्चार्जसँगै हाल केन्द्रीय सदस्य समेत हुन् ।
सप्तरी प्रहरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार उनीमाथि इलाका प्रहरी कार्यालय कल्याणपुरमा आपराधिक विश्वासघात र ठगी मुद्दामा जाहेरी परेको र अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिइएको हो ।
सप्तरीकै बोदेवरसाइन नगरपालिका १० का निर्मलकुमार यादवको जाहेरीले नेपाल सरकार वादी भइ शर्मामाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दा चलाइएको प्रहरीको भनाई छ ।
सोमबार बिहान नियन्त्रणमा लिइएका शर्मालाई म्याद थप गरी थप अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । ऋणीले ऋण चुक्ता गरे पनि चर्को ब्याज जोड्दै आफ्नो रकम बाँकी नै रहेको दबाबसहित जग्गा फिर्ता गर्न नमानेपछि पीडित पक्ष मिटरब्याज असुलेको भन्दै प्रहरीमा गएको बताएका छन् । मिटरब्याजमा मुद्दा चलाउने कुनै कानुन नभएपछि आपराधिक विश्वासघात र ठगीमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।











