Logo
Logo

रुपन्देहीमा हतियारधारी फरार


7.1k
Shares

काठमाडौं । रूपन्देही प्रहरीले मिलेमतोमा हातहतियार खरखजना र डाँकाचोरीमा संलग्न मुद्दाका अभियुक्तले प्रयोग गरेको भारतीय नम्बर प्लेटको कार छाडेको पाइएको छ ।

दृष्टिलाई प्राप्त विवरणअनुसार प्रहरीले हातहतियार तथा खरखजना मुद्दाका अभियुक्त अभिनाश यादव र डाँकाचोरी संलग्न भएको आरोपमा पक्राउ परेका रवि यादवले प्रयोग गरेको भारतीय नम्बर प्लेट युपी ३२ एचएस ३२५९ नम्बरको रातो सुजुकी ब्रेजा कार छाडेको हो ।

२०७९ पुस ८ गते कोटहीमाई गाउँपालिका–३, त्रिलोकपुरका गोली पड्किएको भन्दै स्थानीयले प्रहरीमा सूचना दिएका थिए । सूचना पाएलगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो ।

घटनास्थलबाट प्रहरीले १ भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको थियो । यस्तै, घटनामा दुई राउन्ड गोली पड्किएको प्रमाण फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार एक थान गोलीको खोका र एक थान फायरिङ् भएको गोली (तर नपड्किएको) घटनास्थलमा भेटिएको थियो ।

त्यतिबेला तीन जनालाई तत्कालै प्रहरीले पक्राउ गरे पनि उक्त घटनामा संलग्न रूपन्देहीको मर्चवारी गाउँपालिका–१ घर भई सिद्धार्थनगर नगरपालिका–६, भैरहवा बस्ने २१ वर्षका अभिनाश यादव भने फरार भएका छन् । 

फरार भएका यादव केही महिना भारतमा लुकेर बसेका थिए । पक्राउ परेका तीनजनालाई भने रूपन्देही प्रहरीले अनुसन्धान गरी मुद्दा चलाएको छ । र, तीनैजना रुपन्देही जिल्ला अदालतबाट २५ हजारका दरले धरौटीमा रिहा भएका छन् । उनीहरुको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।

अभिनाश भने फागुन २६ गते मात्रै भारतमा पक्राउ परेका थिए । भारतको उत्तर प्रदेशस्थित कोलही भन्ने ठाउँबाट प्रहरीले उनलाई फागुन २६ मा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । अभिनाशसँगै २६ गते नै रूपन्देहीको तिलोत्तमा नगरपालिका–७, भलवारीमा सुन र नगद पैसा चोरी घटनामा संलग्न रहेर फरार रहेका कोटहीमाई गाउँपालिका–३ का २३ वर्षीया रवि यादवलाई पनि प्रहरीले पक्राउ गरेर ल्याएको थियो ।

रविमाथि २०७९ फागुन १० गते भलवारीमा सुन र नगद गरी आठ लाख रुपैयाँ बराबरको डाँकाचोरी गरेको आरोप छ । उक्त घटनामा संलग्नहरूको प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिल कार्यालय, भैरहवामा सोमबार फाइल बुझाएको छ । सुन र नगद चोरी घटनामा रविसहित चारजना आरोपित छन् ।

रविलाई डाकाचोरी कसूर लगाएको प्रहरीले अन्य तीनजनालाई भने अभद्र व्यवहारमा अनुसन्धान गरी सरकारी वकिलकोमा फाइल पेस गरेको रूपन्देही प्रहरी प्रवक्ता (डीएसपी) श्यामु अर्यालले जनाए ।

फागुन २६ गते पक्राउ गरेर भैरहवा ल्याइएका अभिनाशलाई २८ गते प्रहरीले अदालतमा पेस गरेको थियो । तर, उनी २५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् । प्रहरीले अभिनाश र रविलाई भारतबाट पक्राउ गरेर ल्याउँदा भारतीय युपी ३२ एचएस ३२५९ नम्बरको रातो सुजुकी ब्रेजा कारमा ल्याएको थियो । जिल्ला प्रहरी कार्यालयका एक अधिकृतका अनुसार पक्राउ परेका दुवैजना सँगै भारतमा थिए र उनीहरूले ब्रेजा गाडी प्रयोग गरिरहेका थिए । गाडीमै रहेकाबेला उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले भने मिलेमतोमा उक्त गाडी छाडेको छ । गोखरपुरका अशोककुमारको नाममा रहेको उक्त गाडी घटनामा संलग्न रहेका अभियुक्त भन्दा फरक मानिसको नाममा रहेको भन्दै फिर्ता गरेको डीएसपी अर्यालले बताए । ‘हामीले गोली पड्किँदा फेला परेका मोटरासाइकल फिर्ता गरेका छैनौं तर अभियुक्तले प्रयोग गरेको गाडी अर्कैको नाममा रहेकाले फिर्ता गरेका हौं’, उनले भने । हामीलाई विवरण उपलब्ध गराउने प्रहरी अधिकृतका अनुसार आर्थिक लाभ लिएर केही प्रहरी अधिकृतको मिलेमतोमा गाडी छाडिएको हो ।

ती प्रहरी अधिकृत भन्छन्, ‘भुलबस भन्सार नगरी नेपाल आएको भारतीय गाडी भेट्टायो भने प्रहरीले बरामद गर्छ तर जघन्य घटनामा संलग्न अभियुक्त सवार गाडी भने तुरुन्तै छाड्नु पर्ने के कारण थियो र ? यसमा राम्रै चलखेल भएको थियो ।’ अभिनाशको हकमा प्रहरीले अर्को पनि बद्मासी गरेको छ ।

अदालतबाट २५ हजार धरौटीमा छुटेका अभिनाशलाई प्रहरी तुरुन्तै पक्राउ गर्ने तयारी गरेको थियो । तर, उनै फरार भएका छन् । अभिनाश तस्कर रहेको प्रहरी बताउँछ । उनले मर्चवारबाट तस्करी गर्दै आएका थिए । स्थानीयले तस्करी रोक्न अवरोध गर्ने संकेत पाएपछि तर्साउन उनको समूहले गोली चलाएको थियो ।

हामीलाई प्राप्त विवरण अनुसार प्रहरीले अभिनाशलाई अदालतबाट छुट्दावित्तिकै तुरुन्त पक्राउ गरी अर्को मुद्दा चलाउने तयारी गरेको थियो । यसका लागि उनलाई पक्राउ गर्न एक प्रहरी जवान खटाएको थियो । तर, अदालतमा थुनछेक बहस हुँदैगर्दा उच्च प्रहरी अधिकारीको अभिनाशका नजिकका मान्छेसँग साठगाँठ भयो । त्यसपछि मिलमतोमा उनी सहजै भाग्न सफल भएका छन् । उनलाई भगाएवापत प्रहरीले ३ लाख रुपैयाँ लिएको स्रोतको दावी छ ।

मर्चवारको स्थानीय नेताको दवावमा अभिनाशलाई आर्थिक लाभ लिएर प्रहरीले भगाएको हो । ती प्रहरी अधिकृत भन्छन्, ‘एउटा सामान्य केही नबुझेको जवानलाई हातहतियार जस्तो गंभीर घटनामा मुछिएका व्यक्तिलाई पक्राउ गर्न पठाउनु नेतृत्वको गलत निर्णय थियो, योजनाबद्धरुपमै उनलाई भगाउन त्यसो गरिएको हो । यसमा प्रहरी जवानको दोष छैन, माथिल्लो तहका अधिकृत दोषी हुन् ।’ आर्थिक लाभ लिएकै कारण प्रहरीले अभिनाशलाई अदालतबाटै भगाएको दावी ती अधिकृत गरे ।

प्रहरी प्रवक्ता डीएसपी अर्यालले अभिनाश भाग्नुमा प्रहरीको केही कमजोरी भएको पनि स्वीकारे । ‘हामीले उसलाई पक्राउ भनेका थियौं तर केही कमजोरीले भाग्न सफल भए’, उनले भने । यो घटनामा प्रहरीको मिलेमतो छ रे नी ? भन्ने प्रश्नमा डीएसपी अर्यालले मुद्दा शाखामा बरिष्ठ सई डेलिम्बर घिमिरेका बारे बेलाबेला केही गुनासा आउने गरेको जनाए ।

‘गुनासा आउनेवित्तिकै हामीले सचेत गराउने र गल्ती गरे कारबाही गर्ने चेतावनी पटकपटक दिइरहेका छौं’, उनले भने, ‘यसबारेमा पनि थप बुझेर आवश्यक प्रक्रिया अघि बढाउँछौं ।’ घिमिरे लामो समयदेखि मुद्दा शाखामा कार्यरत छन् । उनका बारे आर्थिक चलखेल गरेको गुनासो आउने गरे पनि कारबाही भने हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्