काठमाडौं । आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि ६९ जनाले उमेदवारी दर्ता गराएका छन् । सोमबार भएको उमेदवारी मनोनयमा तीनै क्षेत्रमा गरी कुल ६९ जनाको उमेदवारी परेको हो ।

बारा क्षेत्र नम्बर २ मा ३६, चितवन क्षेत्र नम्बर २ मा २४ र तनहुँ क्षेत्र नम्बर १ मा ९ जनाको उमेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा बारा–२ दलका १२ जना र स्वतन्त्र २४ जना गरी ३६ जनाको उमेदवारी परेको हो ।
बारामा नेकपा (एमाले)बाट पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेललगायतको उमेदवारी परेको छ ।
त्यस्तै, चितवन–२ मा दलका १२ र १२ जना स्वतन्त्र गरी २४ जनाले उममेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतको उमेदवारी परेको हो ।
त्यस्तै, तनहुँ–१ मा दलका ९ जनाको उमेदवारी परेको छ । जसमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेसहितले उमेदवारी दर्ता गराएका हुन् ।











