Logo
Logo

आत्मसमर्पण गर्न न्यूयोर्क पुगे ट्रम्प



काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आत्मसमर्पण गर्न न्यूयोर्क पुगेका छन् ।

आफूविरुद्धको फौजदारी मुद्दामा आत्मसमर्पण गर्न ट्रम्प आफ्नो निजी जेट विमान चढेर फ्लोरिडाबाट म्यानहटन जिल्ला न्यायाधिवक्ताको कार्यालय न्यूयोर्क पुगेका हुन् ।

ट्रम्पले मंगलबार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा आत्मसमर्पण गरे लगत्तै पहिलो सुनुवाइका लागि अदालतमा पेश गरिने रोयटर्सले जनाएको छ । न्यायाधीश समक्ष प्रस्तुत गरिनु अघि अदालतमा ट्रम्पको औँठाछाप लिइनुका साथै फोटो खिचिने छ ।

ट्रम्पलाई हथकडी भने लगाइने छैन । उनका समर्थकले गर्न सक्ने सम्भावित विरोध प्रदर्शनलाई ध्यानमा राख्दै न्यूयोर्कमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

ट्रम्पविरुद्धको अभियोगपत्र सार्वजनिक नगरिए पनि उनीमाथि व्यवसायिक धोखाधडीसँग सम्बन्धित ३० भन्दा बढी अभियोग लगाइएको छ ।

आफूसँगको अनुचित सम्बन्ध सार्वजनिक नगर्न पूर्वपोर्न स्टार स्टोर्मी ड्यानियल्सलाई कानुन व्यवसायीमार्फत १ लाख ३० हजार डलर दिएको प्रमुख अभियोग छ । रकम दिनु गैरकानुनी नभए पनि अर्कै शीर्षक देखाएर दिनु गैरकानुनी भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्