Logo
Logo

मौसमी फ्लूबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह


504
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौसमी फ्लूबाट जोगिन आग्रह गरेको छ । मौसमी फ्लूका बिरामी बढ्दै गएपछि मन्त्रालयले सो आग्रह गरेको हो ।

लामो समय पानी नपर्दा बढेको प्रदूषणका कारण मौसमी फ्लू बढेको मन्त्रालयले जनाएको छ । केही समययता पानी परे पनि फ्लू लाग्नेक्रम नरोकिएकाले अस्पतालमा फ्लू लागेर आउनेको चाप उच्च रहेको मन्त्रालयको भनाइ छ ।

यसबाट बच्न फ्लू लागेका व्यक्तिबाट टाढै बस्नु पर्ने तथा आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्ने लगायतका स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

घरमा कसैलाई फ्लू लागे वा रुघा खोकी लागे सबैलाई मास्क लगाउन मन्त्रालयले आग्रह गरेको छ । मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न पनि मन्त्रालयले सुझाएको छ । खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोप्नु र बेलाबेलामा साबुनपानीले हात धोन मन्त्रालयको आग्रह छ ।

हातले आँखा, नाक वा मुख छुन नहुने बताएको मन्त्रालयले तातो पानी पिउने, बाफ लिनेजस्ता घरेलु उपचार विधि अपनाउन सकिने पनि मन्त्रालयले बताएको छ ।

प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान आग्रह गरेको मन्त्रालयले गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि सुझाएको छ । स्वास्थ्य मन्त्रालयले सम्भव भएसम्म फ्लूविरुद्धको खोप लगाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्