Logo
Logo

चीनको चेतावनीका बाबजुद ताइवानी राष्ट्रपतिलाई भेट्दै अमेरिकी सभामुख



वासिङटन । अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले ताइवानका राष्ट्रपति साई इङ वेनसँग बुधबार भेटवार्ता गर्ने भएका छन् ।

ग्वाटेमाला र बेलिजको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा बुधबार ताइवानी नेताले सभामुख म्याकार्थीसँग यहाँबाट ६४ किलोमिटर पर अवस्थित रोनाल्ड रोगन पुस्तकालयमा द्विपक्षीय बैठक गर्ने सभामुखको कार्यालयले पुष्टि गरेको छ ।

गत साता न्युयोर्क हुँदै ग्वाटेमाला जाने क्रमममा त्यहाँ रहेका ताइवानी राष्ट्रपतिले त्यहाँस्थित हडसन इन्स्टिच्युटलाई सम्बोधन गरेका थिए । ताइवानी नेताले सभामुख म्याकार्थीलाई भेटेमा त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी बेइजिङले दिएको छ । सभामुखसँगको भेटवार्ताले गम्भीर टकराव निम्त्याउनसक्ने बेइजिङले बताउँदै आएको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले विदेश भ्राणका क्रममा राष्ट्रपति साई अमेरिकामा ‘ट्रान्जिट’मा बस्नु र उहाँले सभामुखलाई भेट्नु सामान्य हो भन्दै विगतमा पनि धेरै ताइवानी नेता अमेरिका भएर तेस्रो मुलुक प्रस्थान गरेका बताएका थिए ।

गत वर्ष पूर्वसभामुख न्यान्सी पिलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साईलाई भेटेपछि क्रुद्ध भएको बेइजिङले जनमुक्ति सेनालाई ताइवान टापु वरपर उतारेर अभूतपूर्व अभ्यास गरेको थियो ।

सभामुख म्याकार्थीले वासिङ्टन डिसीबाट टाढा लस एञ्जलसमा ताइवानी नेतालाई भेट्न गरेको निर्णयलाई ताइवानको समर्थनलाई जोड दिएको विश्लेषण गरिएको छ ।

बाह्य दबाबले विश्वका विभिन्न मुलुकसँग सम्बन्ध कायम गर्ने ताइवानको सङ्कल्पमा कुनै बाधा नहुने राष्ट्रपति साईले अमेरिका प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारहरूलाई बताएका थिए । चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्