Logo
Logo

हर्क साम्पाङ र बालेनबीच भेटवार्ता


1.3k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । मंगलबार धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको हो ।

खानेपानी आयोजनाका लागि बजेट माग्न संघीय राजधानी काठमाडौं आइपुगेका मेयर साम्पाङलाई बालेनले आफ्नो कार्यकक्षमै भेट्न बोलाएका थिए । बालेनका सचिवालयका अनुसार उनीहरूबीच दुई नगरहरुबीच भइरहेको पछिल्लो कामको गतिविधि, फोहोर एवम् फुटपाथ व्यवस्थापन लगायतका विषयमा छलफल भएको छ । मेयर हर्कले धरानमा पानी ल्याउने काम कसरी भइरहेको छ भनेर आफ्ना अनुभव साटेको थिए ।

भेटका क्रममा शुभको पहिचानको रुपमा रहेको ‘सिलाम साक्मा’ उनीहरूले एकअर्कालाई लगाइदिएका थिए । सिलाम साक्मालाई जीवन सुरक्षा कवजको रूपमा लिइने गरिन्छ । लिम्बु भाषामा ‘मुन्धुमी’ परम्परा अनुसार ‘सि’को अर्थ मर्नु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’को अर्थ छेक्नु अर्थात् मृत्‍युको बाटो छेक्नु हो ।

उनीहरुको भेटवार्ताको तस्बिर सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा धेरैले सकारात्मक प्रतिक्रियाका साथमा तस्विर सेयर गरिरहेका छन् ।

हर्कसँगको भेटपछि बालेनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘सिलाम साक्माले मृत्युको बाटो छेके झैं, नेपालमा विकासको बाटो कसैले छेक्न नसकोस् ।’

मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा विकासको योजनाहरु बोकेर यतिबेला संघीय राजधानी काठमाडौंमा हुन् ।

मेयर साम्पाङको टोलीले काठमाडौंमा प्रधानमन्त्री, संघीय मन्त्री लगायतसँग भेट गरेर धरानको विकास लगायतका विविध पक्षका बारेमा ध्यानाकर्षण गराइरहेको छ । उनीहरुसँग प्रशासनका अनुगमन अधिकृत वेदप्रकाश सापकोटा र उपमेयरका स्वकीय सचिव खेम रनपहेली पनि सँगै आएका छन् ।

आगामी आर्थिक बर्षको बजेटमा धरानको प्राथमिकतामा रहेको खानेपानीको लागी बजेटसँगै अन्य विभिन्न योजनाहरु लिएर टोली संघीय राजनधानी आएका हुन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर धरानमा कोशीबाट पानी ल्याउने योजना आउँदो बजेटमा राख्न आग्रह गरेका उनले शहरी विकासमन्त्री सीता गुरुङलाई पनि भेटेका छन् ।

प्रधानमन्त्रीसँग साम्पाङले धरानमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि कोशीबाट खानेपानी ल्याउने योजना बुझाएका छन् । यस्तै उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईलाई पनि भेट गरेर मागपत्र बुझाएका छन् । उनीहरुले अन्य मन्त्रीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्