काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पहिचानको विषयलाई राज्यले निषेध गर्न नमिल्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘सी’ जातिको अवधारणा विषयक विचार गोष्ठिमा बोल्दै विप्लवले अहिलेको सत्ता क्षेत्री बाहुनहरुकै सत्ता भएको टिप्पणी समेत गरेका छन् ।

‘जातीय हिसावले हेर्ने हो भने अहिलेको सत्ता क्षेत्री बाहुनकै सत्ता हो । ‘कहाँ छ संघीयता ?, घुमाएको छ, घुमाएको छ कार्यकारी सबै हेर्नुस् त, कोही छ ?’, उनले प्रश्न गरे ।
यस्तै उनले पहिचान चाहियो भन्ने जनतालाई राज्य सत्ताले बन्द गर्नु नहुने बताए । ‘आजको दिनमा पहिचान आवश्यक छ । पहिचान चाहियो भन्ने जनतालाई हामीले बन्द गर्नु हुँदैन । उनीहरु उठ्नुपर्छ । तर, पहिचान सिमित हुनु हुँदैन । पहिचानवादी चाहिँ हुनु हुँदैन’, उनले भने ।
उनले पूर्वमा त्यहाँको मागलाई सम्बोधन गरेर जनतालाई चित्त बुझ्ने साझा नाम राख्नुपर्ने बताए । ‘पूर्वमा राई, लिम्बू, कोच सबैको केन्द्रित गरेर साझा नाम त्यहाँको जनताहरुलाई चित्त बुज्ने नाम राखे के फरक पर्छ । भूगोल विशेषको कारणबाट या जाती विशेषको कारणबाट हेर्ने आफैले ब्याख्या गर्ने दृष्टिकोण गलत कुरा हो’, उनले भने, ‘जनता सन्तुष्ट हुनुपर्छ । उनीहरुले आफू समाहित भएको, समेटिएको, आफ्नो स्वतन्त्रता कायम भएको अनुभुति गर्नुपर्छ । प्रजातन्त्र भनेको जनताको अनुभुति हो । जनताले उत्पीडनको अनुभुति गर्छ भने त्यो प्रजातन्त्र शासक प्रजातन्त्र, अधिनायकवादी प्रजातन्त्र हो, त्यो प्रजातन्त्र जनताको होईन । त्यो गलत हुन्छ । जनताले आफ्नो ठान्ने प्रजातन्त्रमात्रै प्रजातन्त्र हो । तर, यो पूँजीवादी संघीयतामा यस्तो देखिदैन । यो समाजवादी संघीयतामा मात्रै सम्भव छ । त्यसैले हामीले भनेका छौँ सबै जनताहरु उठ्नु, जाग्नुपर्छ ।’
उनले सत्ता चाहिँ दलालहरुको हातमा थमाएर पूँजीवादीहरुको साथ लागेर आफ्नो पहिचान, स्वतन्त्रता, अधिकार कहिले प्राप्त नहुने तर्क गरे । ‘पूर्वका राई, लिम्बु, कोच जसलाई जाँगरण छ । तपाईहरु केन्द्रमा चाहिँ पूँजीवादलाई साथ दिने तर तल चाहिँ अधिकार खोज्नु हुन्छ भने त्यो अज्ञानता हो । त्यसले आफैलाई भड्कालोमा पार्छ । पूँजीवादीहरुको साथ लागेर कहिले पनि अधिकार प्राप्त हुँदैन । जमिन्दारबाट मुक्ति पाउनु छ भने कमैयाहरुले विद्रोह गर्नुपर्छ । अनि मात्रै अधिकार पाईन्छ । दलालहरुबाट मुक्ति पाउनुपर्छ भने स्वाभिमानीहरुले चाहिँ विद्रोह गर्ने आँट गर्नुपर्छ ।’
उनले पहिचानको जनताको अधिकार भएको पनि बताए । ‘जातीवादी हुनु र पहिचान हुनु एउटै होईन । पहिचानको जनताको अधिकार हो । जातीवाद भनेको जनताले स्वीकार्ने कुरा होईन’, उनले भने, ‘त्यसैले पहिचान खोज्नु पनि एउटा क्रान्ति हो । यो नयाँ सुरुवात हो । नयाँ सभ्यताको प्रक्रिया हो । यसरी हेरियो भने हामी ब्यापक बहसमा जान सक्छौँ ।’











