Logo
Logo

मस्जिदमा हिंसात्मक गतिविधि गर्ने ३ सय पचास बढी पक्राउ



एजेन्सी । पूर्वी जेरुसेलमको पुरानो शहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ ।

मास्क लगाएर मस्जिदभित्र ढुङ्गामुढा गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । इजरायली प्रहरीले हातमा लाठी लिएका उनीहरूले कानुन उल्लङ्घन गरेको र विष्फोटक सामग्रीसमेत बोकेका भन्दै नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।

मस्जिदको शान्ति सुव्यवस्था कायम गर्न बाध्य भई प्रहरी त्यहाँ प्रवेश गरेको बताइएको छ । नमाज पढ्न बसेका श्रद्धालुलाई लक्ष्य गरेर मस्जिदमा आक्रमणको प्रयास भएको हुनसक्ने भन्दै हिंसा भड्किन नदिन तत्काल कारबाही गरिएको त्यहाँको प्रहरी प्रवक्ताले बताएका छन् ।

जेरुसेलममा रहेका एएफपीका पत्रकारहरूले अल अक्सा मस्जिदभित्र बुधबार बिहानैदेखि झडप भएको बताएका छन् । मस्जिदमा प्यालेष्टिनी समूह हमासका कार्यकर्ताले आक्रमण गरेका उनीहरूको भनाई छ ।

हमासले आफ्ना कार्यकर्तालाई मस्जिदमा सामूहिकरूपमा उपस्थित हुन आह्वान पनि गरेको थियो । रमजानको पवित्र महिनामा हजारौँ भक्तजन प्रार्थनाका निम्ति अक्सामा आउने गर्छन् ।

अल अक्सामा झडप भएपछि उत्तरी गाजापट्टीबाट इजरायली क्षेत्रतर्फ धेरै रकेट प्रहार भएका थिए । इजरायली सेनाले गाजापट्टीबाट प्रहार भएका पाँचवटा रकेटलाई देशको हवाई रक्षा प्रणालीले रोकेको र अन्य चारवटा निर्जन स्थानमा खसेका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्