काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पनि जनताले महशुस गर्नेगरि काम गर्न नसके प्राप्त उपलव्धी गुम्ने खतरा हुने बताएका छन् ।
बुधबार काठमाडौंमा नेकपा माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिबी निवारण बिभागले आयोजना गरेको सहकारीकर्मीहरुको प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताले फरक र गुणात्मक रुपमा महशुस गर्ने गरि काम गर्न आफु लागिपरेको बताउँदै अब पनि अल्मलिए परिवर्तन धरापमा पर्ने खतरा रहेको बताएका हुन् ।

उनले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने र सरकारको सम्पूर्ण ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा केन्द्रीत हुने बताए । यसपटकको सरकारको कार्यक्रम परम्परागत भन्दा केही भिन्न र नयाँ हुने उनेको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले अहिले निकै चुनौतीपूर्ण अवस्थामा मोर्चा गरेर नेतृत्वको अवसर प्राप्त भएको भन्दै सबै मिलेर अर्थतन्त्र लगायतका समस्या समाधानका लागि एकजुट हुनुपर्ने बताए ।
संविधान र संघीयताको कार्यान्वयनमा बहसहरु रहेको भन्दै उनले कतिपय शक्तिहरुले परिवर्तनका मुद्दाहरु उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेको बताए । माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने पनि बताए ।
प्रधानमन्त्री प्रचण्डले नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र भएकाले ठीक ढंगले बुझेर राज्यले लगानी केन्द्रित गर्न आवश्यक रहेको बताए ।
उद्योगको हकमा पनि कृषिमा आधारित उद्योगबाहेक अरु उद्योग दीर्घकालीन समाधान नभएकाले कृषिको सहकारीकरणमार्फत् मात्र आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिने उनको भनाइ छ ।











