काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेशहरूमा पनि चाँडै सरकार पुनर्गठन हुने बताएका छन् ।
बुधबार नेकपा एसको केन्द्रीय प्रचार विभागले काठमाडौंमा आयोजना गरेको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै सत्ता गठबन्धनमा रहेका दलहरूलाई समेटेर प्रदेशहरूमा चाँडै सरकार पुनर्गठन गर्ने उनले बताए ।

संघीय सरकारको मन्त्रिपरिषद्ले पनि चाँडै पूर्णता पाउने उनको विश्वास थियो । ‘भर्खरभर्खर यो सरकारले लगभग पूर्णता पाएको छ । अझै पनि केही सिटहरू बाँकी नै छन् । ती बाँकी भएका सिटहरूमा पनि पुर्ताल गर्नुपर्ने हुन्छ । त्यो पनि छिट्टै हुने हामीले विश्वास लिएका छौँ,’ उनले भने, ‘यसको साथसाथै प्रदेशप्रदेशमा पनि अब सरकारको पुनर्गठन हुनेछ । र, यो पुनर्गठनको काम अगाडि बढिरहेको छ । त्यहाँ रहेका गठबन्धन दलसँग आवद्ध भएका सबैलाई समेटेर प्रदेशको सरकार पुनर्गठन गर्ने कुरा सोचिरहेको छौँ ।’
अध्यक्ष नेपालले देशव्यापी रुपमा पार्टी संगठन बनाइरहेको पनि बताए । उनले भने, ‘हाम्रो पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गरिरहेको छ । अब हामी प्रत्येक पालिकाहरूमा, प्रत्येक वडाहरुमा कमिटी बनाउने गरी पार्टी सदस्यको नवीकरण गर्ने गरी अगाडि बढिरहेका छौँ ।’











