काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजभोलि प्रधानमन्त्री र मन्त्रीहरुको समाचार आउँदा र देख्दा नरमाइलो लाग्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री र मन्त्रीहरूले सकेसम्म तीन महिनाजति अनुहार नदेखाएपनि हुने बताउँदै उनले भने, ‘मलाई त आजभोलि प्रधानमन्त्री, मन्त्रीको समाचार आयो कि अन्यथा होइन, रिस उठ्यो त म भन्दिनँ । तर, एकदम नरमाइलो लाग्छ । प्रधानमन्त्री र मन्त्रीले अहिले फोटो पनि खिच्नुपर्दैन ।’
प्रधानमन्त्री, अर्थमन्त्रीलगायतले केही समय सार्वजनिक कार्यक्रम र सञ्चार माध्यममा अनहाुर नदेखिई काम गर्नुपर्ने उनको भनाइ छ । थापाले भने, ‘युद्धको बेला जहाँ जे देखिन्छ त्यही खाइन्छ, जहाँ बस्न मिल्छ बसिन्छ । जहाँ काम गर्न मिल्छ गरिन्छ नि, त्यसरी काम गर्ने बेला हो यो । त्यसरी जुट्ने बेला हो ।’
तीन महिनाजति प्रधानमन्त्री, मन्त्रीको नामसमेत कतै पनि देख्न नपाएपनि हुनेजस्तो लाग्ने बताउँदै उनले भने, ‘नराम्रोका लागि भनेको होइन, यो बेला हामी फुर्सदमा छौं, हामी जाऔंला । प्रधानमन्त्री र मन्त्रीहरूले काम गर्ने बेला हो यो ।’











