काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केही दिनभित्रै वाम शक्तिहरूको कार्यगत एकता हुने बताएका छन् ।

बुधबार नेकपा एकीकृत समाजवादी केन्द्रीय प्रचार विभागले काठमाडौंमा आयोजना गरेको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विचार मिल्नेसँग कम्युनिष्ट शक्तिहरूबीच कार्यगत एकता हुने दाबी गरे ।
उनले भने, ‘बाम शक्तिसँग मोर्चा बनाउने तयारी भएको छ। त्यसको केही दिनमा घोषणा हुन्छ । कम्युनिष्टबीच कार्यगत एकता हुन्छ । अब हामी एकताबद्ध हुन्छौँ। हाम्रो विचारसँग मिल्छन् भने एकता हुन्छु, तर विलय भएर समाप्त हाम्रो पार्टी हुँदैन, र जाँदैन ।’
उनले न्यूनतम सहकार्य अनुसार मिलेर जाने योजना रहेको पनि बताए । ‘अब नेपाललाई पछाडिको अवस्थामा फर्काउन सकिँदैन । उल्टो बाटो हिँड्न सम्भव छैन । प्रतिगामी क्रियाकलापविरुद्ध एकताबद्ध हुन जनतालाई आह्वान गर्न चाहन्छौँ, न्यूनतम सहकार्य अनुसार मिलेर जाने योजना छ । लोकतन्त्र, गणतन्त्र र समाजवादको लागि हातेमालो गर्दै अघि बढ्ने तयारीमा छौँ ।’
अहिले गठबन्धनभित्र ५ वटा पार्टीलाई मूल आधार बनाइएको पनि उनले बताए ।











