Logo
Logo

बाँकेको नरैनापुरस्थित नवनिर्मित ‘बिओपी’को उद्धघाटन


819
Shares

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको उद्घाटन गरिएको छ । बुधबार एक समारोहका बिच नं ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खडका र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै बाहिनीपति खड्काले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनि राष्ट्रले सुम्पेको अन्य जिम्मेवारीमा तल्लीन भएर सशस्त्र प्रहरीले काम गरिरहेको बताए । उनले मुलुकको भूमि एक इन्च पनि तलमाथि नहुने गरी सशस्त्र प्रहरी संवेदनशील भई काम गर्ने जिकिर गरे ।

नागरिकको सुरक्षाका लागि सुरुमा सुरक्षाकर्मीलाई नै बलियो बनाउनुपर्ने भन्दै सो ठाउँमा बोर्डर आउट पोष्टको स्थापना गरिएको बाहिनीपतिको भनाइ थियो । सीमा सुरक्षाका लागि सबैको भूमिका महत्त्वपूर्ण रहने बताउँदै बाहिनीपति खड्काले भने, ‘सीमा सुरक्षा गर्ने जिम्मेवारी सुरक्षाकर्मीको मात्र हो भनेर भन्नू हुन्न तपाई हामी नागरिकको पनि उत्तिकै भूमिका रहन्छ ।’

कार्यक्रममा बोल्दै नरैनापुर गाँउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले सशस्त्र द्वन्द्वको विषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंशा गरे । उनले विपद्का वेला उद्धार संक्रामक रोग नियन्त्रणमा पनि सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताए ।

अध्यक्ष साहले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निरन्तर डिउटीले गर्दा चोरी तस्करी कम भएको बताउँदै भने, ‘पहिले गाउँमै आएर चोरी, डकैती हुने गरेको भन्ने सुन्ने गरिन थियो,’ ‘अहिले त्यस्तो भएको छैन, सीमा क्षेत्रमा हुने अबैध ओसारपसार पनि रोकिएको छ ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक सन्तोषसिंह राठोर, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक मोहन कुवँर, नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, सशस्त्रका डिएसपी दिपक चन्द, वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, नरैनापुरका लेखा अधिकृत भरत बस्नेत लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्