Logo
Logo

ताइवानका राष्ट्रपति र अमेरिकी सभामुख भेट, चीनको कडा आपत्ति



काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख केभिन मकार्थीले ताइवानकी राष्ट्रपति साई इंग वेनसँग भेटवार्ता गरेका छन्।

अमेरिकी अधिकारीसँग भेटवार्ता नगर्न चीनको चेतावनीलाई बेवास्ता गर्दै वेनले सभामुखसँग् भेट गरेकी हुन्। उक्त भेटले चीन नीतिको ठाडो उल्लंघन गरेको भन्दै कडा शब्दमा भर्त्सना गरेको छ। सन् १९७९ मा अमेरिका र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएयता अमेरिकी भूमिमा ताइवानी नेतालाई भेट्ने उनी अहिलेसम्मकै वरिष्ठ अमेरिकी अधिकारी हुन्।

भेटपछि बोल्दै मकार्थीले साईलाई अमेरिकाकी एक महान मित्र भन्दै प्रशंसा गरेका छन् । साथै उनले आर्थिक स्वतन्त्रता, प्रजातन्त्र, शान्ति र स्थायित्वलाई प्रवर्द्धन गर्न दुवै देशका जनता मिलेर काम गर्ने उपाय पहिल्याउने कामले निरन्तरता पाइरहनेमा आफू आशावादी रहेको बताएका छन् ।

मकार्थीको आथित्यलाई क्यालिफोर्नियाको घाम झैं न्यानो भन्दै साईले उनी र आफूसँग भेट्ने संसदीय प्रतिनिधिमण्डललाई धन्यवाद दिएकी छन्। मकार्थी र साईबीचको भेटवार्तामा अमेरिकाका दुवै राजनीतिक दलका सांसदहरु सहभागी थिए।

चिनियाँ विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षार्थ कडा र ठोस कदम चाल्ने दृढता व्यक्त गरेको छ। विज्ञप्तिमा यसका लागि चिनियाँ सेना उच्च सतर्कतामा रहनेसमेत उल्लेख गरिएको छ।

चिनियाँ संसदको विदेश मामिला समितिले पनि एक विज्ञप्ति जारी गर्दै एक चीन नीतिको गम्भीर उल्लंघन भन्दै अमेरिकी कदमको विरोध र भर्त्सना गरेको छ। चीनले ताइवानलाई आफ्नो प्रान्तको रुपमा दाबी गर्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दछ।

प्रतिक्रिया दिनुहोस्