
काठमाडौं । आगामी वैशाख १० मा सम्पन्न हुने प्रतिनिधिसभाको उपनिर्वाचनका निम्ति नेकपा (एमाले) ले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । तर, आफैँले चलाएको ‘मिशन ग्रासरुट’को धज्जी उडाउँदै उम्मेदवार तय गरेपछि चुनावमा एकतावद्ध हुनुपर्ने पार्टीभित्र झन्झन् धाँजा फाटेको छ ।
संसदभित्र सभामुखमार्फत एमालेले चलाउन खोजेको मनोमानीलाई अन्य दलहरुले प्रतिनिधिसभा नियमावलीलाई कडा बनाएर निस्तेज पारिदिएका छन् ।
प्रतिनिधिसभाको कार्यसञ्चालन गर्न, बैठकको व्यवस्थापन गर्न, विभिन्न संसदीय समिति गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि बनाउन आवश्यक पर्ने नियमावली पारित गर्ने क्रममा सबै दलबाट अविश्वासको सामना गर्दै सभामुखले आफ्ना पूर्वअधिकारहरु गुमाएका छन् । यसरी एमाले एकातिर पार्टीभित्रै समस्याग्रस्त भएको छ भने संसदको भूमिकामा पनि संकुचनमा परेको छ ।
एमालेले हिजो उम्मेदवारी दर्ता हुनुभन्दा केही घण्टाअघि बाराको क्षेत्र नंं. २ बाट पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गर्दा जिल्लाका अधिकांश नेता सन्तुष्ट छैनन् । ७० प्रतिशत मधेसी र मधेसीभित्र पनि यादव समुदायको बाहुल्यता रहेको उक्त निर्वाचन क्षेत्रमा उम्मेदवार बन्नका लागि एमालेले मान्छे नपाएर एकीकृत समाजवादीका नेताहरुलाई फकाउने प्रयास गर्याे ।
अघिल्लो निर्वाचनमा पराजित भएका वलवीर चौधरीले हार्ने चुनावमा उठ्ने साहस नगरेपछि अन्ततः उक्त निर्वाचन क्षेत्रभन्दा बाहिरबाट पुरुषोत्तम पौडेल उम्मेदवार बनाइएका हुन् । एमालेले पार्टी छोडेर एकीकृत समाजवादीमा लागेका विजेद्रलाल चौधरी, छटुलाल यादव र बतहु राय यादवहरुलाई एमालेको तर्फबाट उम्मेदबार बनाउने प्रयास गरेको थियो । तर, कसैले पनि नमानेपछि पौडेललाई राष्ट्रपतिमा सुवास नेम्वाङ र उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई जस्तै बनाउने गरी उम्मेदवार तय गरेको हो ।
तनहुँ–१ मा उम्मेदवारी तय गर्नका लागि पार्टी जिल्ला कमिटीले पठाएको सिफारिसलाई लत्याएर अध्यक्ष केपी शर्मा ओलीको बालकोट निवासबाट पठाइएको नामलाई स्वीकार्न बाध्य पारिएको छ । नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनाल त्यहाँका उम्मेदवार हुन् ।
मंसिर ४ को निर्वाचनमा काठमाडौं–६ बाट पराजित भएका खनाल तनहुँ पुख्र्यौली थलो भएका व्यक्ति त हुन्, तर उनी र उनको परिवारको त्यहाँ कुनै प्रभाव छैन । उनका दाइ सुवीर खनाल गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइरालासम्म प्रधानमन्त्री रहँदाका प्रमुख स्वकीय सचिव र सल्लाहकार थिए । अहिले उनी भाइको प्रचारमा नभएर कांग्रेस उम्मेदवारकै प्रचारमा सक्रिय छन् ।
खनालका अर्का दाइ रवीन्द्र राजाको सक्रिय शासनकालमा मन्त्री भएका व्यक्ति हुन् । एमालेको जिल्ला कमिटीले भने मंसिर ४ को निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गर्दा निकटतम् प्रतिद्वन्द्वी भएका एकबहादुर रानालाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो ।
उनले मंसिर ४ को निर्वाचनमा १९ हजार ९ सय ८१ मत ल्याएका थिए । त्यसबेला ५ हजार ३ सय ८० मतले हारेका रानाले यसपटक जित्न सक्ने आधारहरु पेश गरेका थिए । तर, बालकोटमा ती आधारहरुको सुनुवाई भएन ।
एमालेले त्यहीँबाट उम्मेदवार बन्नका लागि एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य प्रतापलाल श्रेष्ठलाई दबाब दिएको थियो । तर, श्रेष्ठले एमालेको प्रस्ताव अस्वीकार गरेका थिए ।
चितवनको उम्मेदवारीमा पनि जिल्ला कमिटीभन्दा बालकोट हावी भएको कारण निराशा छाएको छ । जिल्ला कमिटीले मंसिर ४ मा पराजित भएका कृष्णभक्त पोखरेल, देवी ज्ञवालीसहित जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको नाम सिफारिस गरेको थियो ।
पोखरेल र ज्ञवाली सोही निर्वाचन क्षेत्रका बासिन्दा हुन् । तर, उम्मेदवार बनाइएका न्यौपाने जिल्लाकै अर्को निर्वाचन क्षेत्रका बासिन्दा हुन् । मंसिर ४ को निर्वाचनमा न्यौपाने क्षेत्र नं. १ बाट उम्मेदवार बनेका थिए । राप्रपाका उम्मेदवार विक्रम पाण्डेलाई समर्थन गर्दै उनको उम्मेदवारी काठमाडौंबाटै फिर्ता लिने निर्णय पार्टीले गरेपछि उनको उम्मेदवारी बदर भएको थियो ।
संसदभित्र विकसित समीकरणलाई आफ्नो अनुकूल बनाउनका निम्ति एमालेसँग उपनिर्वाचनको उम्मेदवारी तय गर्ने क्रममा केही सुविधा उपलब्ध थिए । तर, उसले सम्भावित सुविधातर्फ ध्यान दिएन । एक त संसदभित्र राप्रपाबाहेक अरु कुनै दलको साथ वा समर्थन नपाउने स्थिति छ । अर्कातिर केही दललाई आफूतर्फ आकर्षित गर्न उसले उम्मेदवारीका सहज बनाइदिने मौका थियो ।
बाराको हकमा सिके राउत नेतृत्वको जनमत पार्टीले एमालेको समर्थन चाहेको थियो । जनमतले मंसिर ४ को निर्वाचनमा कांग्रेस, लोसपासहितको गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशवाहलाई बाराबाट उम्मेदवार बनाएको छ ।
उक्त निर्वाचनमा जसपाका रामसहायप्रसाद यादवसँग ३ सय ५४ को मतान्तरले पराजित भएका कुशवाहले एमालेको समर्थन मिलेमा यसपटक चुनाव जित्ने दावी गरेका थिए । तर, एमालेले जनमतको प्रस्तावलाई वास्ता गरेन ।
रवि लामिछानेले एमालेले उम्मेदवारी नदिए चितवनमा आफूलाई सहज हुने र तनहुँमा स्वर्णीम वाग्लेलाई समर्थन गरेमा सजिलै जितिने भनेका थिए । त्यसमध्ये चितवनमा नसकिने भए पनि तनहुँका लागि अन्तिमसम्म सहयोग मागेका थिए ।
आगामी दिनमा एमालेसँग सहकार्य गरेर जाने बाटो खुल्ने भन्दै रविले मागेको सहयोगमा ओलीले कुनै प्रतिक्रिया दिएनन् । उनकै दबाबमा चितवनमा रामप्रसाद न्यौपानेको उम्मेदवारी तय गरियो र, तनहुँमा सर्वेन्द्र खनाल गए ।
एमालेले चलाएको ‘मिशन ग्रासरुट’मा देशभरिका कार्यकर्ताले पार्टीका हरेक नीति र निर्णयको स्वामीत्वबोध नभएकोमा असन्तुष्टि जनाएका थिए । पार्टीका भेला, अधिवेशन र जिम्मेवारी दिने मामिलामा सीधै केन्द्रबाट हस्तक्षेप भएको र पार्टीभित्रको आन्तरिक एकता सुदृढ हुन नसकेको निश्कर्षका साथ ‘मिशन ग्रासरुट’ का सन्देशहरु केन्द्रमा आइरहेका थिए ।
पार्टीलाई जे–जे कारणले क्षति पुग्यो भनी तल्लो कमिटीहरुले गुनासो गर्दै थिए, त्यही त्यही गतिविधि उपनिर्वाचनमै दोहोरिएको छ । चुनावी मोर्चादेखि संसदीय मोर्चासम्म एमालेका निम्ति व्यक्तिमुखी कार्यशैली बाधक बन्दा फेरि पनि उपलब्धी हैन, क्षति नै व्यहोर्नुपर्ने अवस्था रहेको उक्त पार्टीका कार्यकर्ताहरु बताउँछन् ।











