काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ ।
नेता कोइराला शुक्रबार विहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । नेता कोइरालासँगै अर्का कांग्रेस नेता मिनेन्द्र रिजाल पनि बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री र नेता कोइरालाबीच मन्त्रिपरिषद बिस्तारबारे छलफल भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताएका छन् । उनका अनुसार प्रधानमन्त्रीले कांग्रेस र जसपाले नाम नपठाउँदा मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको भन्दै पार्टीभित्रको खचिलो मिलाएर चाँडो मन्त्रीको नाम पठाउन आग्रह गरेका छन् ।
सोधmममा नेता कोइरालाले पार्टी सभापतिसँग छलफल गरेर चाँडै मन्त्रीको नाम पठाउने जवाफ दिएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो समूहलाई दुई मन्त्रालयको मात्र प्रस्ताव गरेपछि मन्त्रीको नाम पठाउन समस्या भएको कोइरालाको भनाइ थियो ।
कांग्रेसभित्र गुटगत विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । गत शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षा मन्त्रालय सम्हाल्ने गरी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकासमन्त्री बनेर सरकारमा सामेल भएका छन् ।
देउवाले सोही दिन धनराज गुरुङ र डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । तर, महामन्त्री गगन थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जान नहुने अडान राखेपछि देउवाले आफू पक्षका २ जनाको पनि शपथ रोकिदिएका थिए ।
प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ ।











