काठमाडौं । जब कसैसँग भेट हुन्छ, हामी दुई हात जोडेर नमस्कार गर्छौँ । आफन्त, चिनेजानेका, इष्टमित्र, गुरु, अतिथि जो कोहीलाई पहिलो भेटमा नमस्कार गर्छौँ ।
नमस्कार गर्नु हाम्रो संस्कार हो । आफूले कसै व्यक्तिलाई सम्मान दिनु पनि हो । किनकि जहिले पनि नमस्कार आफूभन्दा ठूला व्यक्तिलाई नै गर्ने गर्छौँ । साइनोले होस् या उमेरले । पदले नै किन नहोस् आफूभन्दा ठूलालाई नै नमस्कार गर्ने हाम्रो संस्कार छ ।
नमस्कार गर्नु मनोवैज्ञानिक पद्धति पनि हो । हात जोडेर तपाईं कडा वा क्रोधित रुपमा बोल्न सक्नुहुन्न । किनभने नमस्कार गर्दा हाम्रो अहंकार नष्ट हुन्छ । विनय गुण नम्रता विकास हुन्छ ।
समान्यतः हामी कसैसँग भेट हुँदा नमस्कार गर्ने गर्छौँ । टाढामा १५-२० मिटरसम्म रहेका व्यक्तिलाई नमस्कार गर्छौँ । प्रविधि र सञ्चारमाध्यमको प्रयोगबाहेक । । तर, आज एक जना सांसदले ७६ किलोमिटर टाढा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नमस्कार गरे ।

नयाँ बानेश्वरबाट गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डलाई नमस्कार गर्ने सांसद हुन्, सुमना श्रेष्ठ । उनले प्रधानमन्त्री संसद्मा अनुपस्थित भएपछि कटाक्ष गरेका हुन् । काठमाडौं–गोरखाको दूरी ७६ किलोमिटर रहेको छ ।
आज (शुक्रबार) बसेको संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डप्रति कटाक्ष गर्दै सांसद सुमनाले बोल्न सुरु गरे । उनले भने– ‘सम्माननीय सभामुख महोदय, नमस्कार अनुपस्थित प्रधानमन्त्रीज्यू, यता उपस्थित हुनुभएका मान्यज्यूहरु, लबि, स्काइ हल र क्यान्टिनमा हुनुभएका सांसदज्यूहरुमा म १० औँला जोडेर नमस्कार टक्र्याउँछु ।’
त्यसपछि उनले आफ्नो विषयवस्तु राखे । सो क्रममा अभिलेखीकरणको महत्व कतिपयले नबुझेको उल्लेख गर्दै त्यसबारे स्पष्ट पारिनुपर्ने बताए । उनले कार्यक्षेत्र स्पष्ट भएमा यसबारे काम गर्न सहज हुने भन्दै अभिलेख राख्ने प्रक्रिया पनि चुस्त दुरुस्त हुनुपर्ने धारणा राखे ।
यता, संसद् बैठक चलिरहँदा प्रधानमन्त्री प्रचण्ड भने गोरखा पुगेका थिए । नेकपा माओवादी केन्द्र गोरखाले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा कार्यक्रमलाई सम्बोधन गर्न उनी गोरखा बजार पुगेका थिए ।
त्यहाँ सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्याउने प्रतिबद्धता गरे । आफूले सरकारको नेतृत्व गरेदेखि नै सामाजिक न्याय, सुशासन र समृद्धिलाई अगाडि बढाउने सङ्कल्प गर्दै आएको भन्दै त्यसअनुसार मन्त्रिपरिषद्को पहिलो बैठकदेखि नै जनतामा आशा जगाउने काम हुँदै आएको उनको भनाइ थियो ।











