Logo
Logo

मेलम्चीको पानी वितरणमा सुधार गर्न त्रिपक्षीय समझदारी


441
Shares

भक्तपुर । यहाँका विभिन्न स्थानमा पाइप लाइन बिग्रिएर मेलम्चीको खानेपानी चुहावट भई प्रभावित भएपछि खानेपानीको पाइप लाइन सुधार गरी पानी वितरण गर्न भक्तपुर नगरपालिका, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अरनिको राजमार्ग खण्डको सूर्यविनायक बाराही चोकबाट जगाति हुँदै सूर्यमढीसम्मको खानेपानीको पाइप लाइन विस्तार तथा जडानकार्य गर्न अनुमानित खर्च हुने बजेट नगरपालिका र खानेपानी लिमिटेडले व्यहोर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

नगरपालिका क्षेत्रमा मेलम्ची खानेपानी वितरण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने क्रममा बाराहीस्थान–जगाती, च्याम्हासिंहबाट सूर्यमढीसम्म खानेपानीको पाइप बिछ्याउने, अन्य विभिन्न स्थानमा पाइप बिछ्याउने कार्यमा नगरपालिकाद्वारा गरिने खर्च रकमलाई काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० को सेयर खरिदमा रुपान्तरण गर्न आवश्यक पहलसमेत गरिने भएको छ ।

पाइप लाइन विस्तारकार्य गर्ने क्रममा सडक, खानेपानी, ढलको पाइप लाइन एवं अन्य कार्यको खर्च नगरपालिकाबाट व्यहोरिने र कामको गुणस्तर कायम गर्न प्राविधिक सहयोग खानेपानी लिमिटेडबाट गरिने विषयमा समझदारी भएको छ ।

नगर प्रमुख सुनिल प्रजापति, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया दिनुहोस्