Logo
Logo
कला

‘हिँड्दा-हिँड्दै पनि गीत लेख्छु’



पछिल्लो समय अधिकांश कलाकार अमेरिका पलायन हुने बाटोमा लागेका छन् । ‘सेलिब्रेटी’ भनिएका कलाकारहरु अमेरिका नभएपनि अष्ट्रलिया र बेलायत जानलाई मरिहत्ते गरिरहेका छन् । मानौँ, उनीहरु देशमा बस्नै चाहदैनन् । तर, सबै उस्ता हुँदैनन् । जो अमेरिकामा सबैथोक पाएर पनि स्वदेश फर्किएका छन् । तिनैमध्येकी एक हुन् गीतकार इन्दिरा चेम्जोङ

‘अर्को जन्म’जस्ता लोकप्रिय गीति एल्बमका गीतकार चेम्जोङले अमेरिकाको न्यूयोर्कमा १६ वर्ष बिताइन् । तर, उनलाई अमेरिकाको कमाइ र रहन–सहनले लोभ्याएन । त्यसैले उनी पुनः अमेरिका नफर्कने गरी स्वदेश फर्किइन् । धनक्ुटा, राजारानीकी गीतकार एवं समाजसवी चेम्जोङ भन्छिन्, ‘आफ्नो देशमै केही गरौँ भनेर फर्केकी हुँ । जे गर्छु, अब नेपालमै गर्छु ।’ गीतकार चेम्जोङका ‘अर्को जन्म’, ‘हिजो जति माया’लगायतका गीत चर्चित छन् । गीतकार इन्दिरा चेम्जोङसँग एमपी सुब्बाको जम्काभेट :

तपाइँ गीत लेखनको कहिलेदेखि लाग्नुभएको हो ?
स्कुल पढ्दैदेखि गीत लेख्थेँ । तर, त्यो समयमा गीत रेकर्ड गराउने र एल्बम निकाल्ने अवसर जुरेन । अवसरभन्दा पनि अवस्था र परिस्थितिले गर्दा मनमै गीतहरु गुम्सिए । बल्न सन् २०१७ अर्थात २०७५ सालमा आएर ‘अर्को जन्म’ एल्बम निकालेँ । त्यो नै मेरो गीति लेखनको औपचासरक यात्राको थालनी हो ।

गीति एल्बम नेपाल हुँदै निकाल्नुभएको थियो कि ?
मैले अमेरिकाबाटै एल्बम निकालेकी हुँ । नेपालमा हुँदा एल्बम निकाल्ने परिस्थिति भएन । सन् २०१७ मा म अमेरिका थिएँ । त्यहीँबाट नेपालका चर्चित संगीतकारहरुलाई लिएर ‘अर्को जन्म’ एल्बम निकालेकी हुँ । एल्बमको अमेरिको न्यूयोर्कमै विमोचन गरेकी थिएँ ।

त्यो बेला ‘अर्को जन्म’ एल्बम कतिको चल्यो ?
एल्बम बिक्री भएन । मैले एल्बम निकाल्दा एल्बम बिक्री हुने चलन थिएन । तर, एल्बमका गीतहरु भने श्रोता/दर्शकले एकदमै रुचाएका थिए । एल्बममा ६ वटा गीत समेटेकी थिएँ । सबै गीतमा नेपालका ख्याती प्राप्त संगीतकार र गायक/गायिकाहरुलाई समेटेकी थिएँ । अञ्जु पन्त, दिपक लिम्बू, मेलिना राई, प्रमोद खरेल, स्वरुपराज आचार्यलगायतका गायक/गायिकाले ‘अर्को जन्म’मा स्वर दिएका छन् ।

एल्बमका लागि कति खर्च भएको थियो ?
खर्च धेरै नै भयो । एल्बमका सबै गीतको भिडियो बनाएकी छु । त्यसैले १५ लाखभन्दा बढी खर्च भयो । २०१७ मा एल्बमका लागि १५ लाख खर्च गर्नु धेरै हो ।

लाखौँ खचेर एल्बम निकाल्नुभयो, फाइदाचाहिँ के भयो ?
सोचेअनुसार भएन । तैपनि गीतकार बन्ने रहर र इच्छा पूरा भयो । त्यसपछि दर्शक तथा श्रोताको माया पाएँ । गीतकारको रुपमा चिनिएँ । त्यसैमा खुसी छु ।

तपाइँलाई गीतकार इन्दिरा चेम्जोङ भनेर चिनाउने गीत कुन हो ?
त्यो समय एल्बमका सबै गीत मन पराइएको थियो । तैपनि अहिलेसम्म चिनाइरहेको गीतचाहिँ एल्बमको शीर्ष गीत हो । ‘अर्को जन्म’ बोलको गीत अहिले पनि श्रोता/दर्शकले उत्तिकै मन पराइरहेका छन् । उक्त गीतमा दिपक लिम्बूको स्वर र ताराप्रकाश लिम्बूको संगीत रहेको छ ।

गीत लेखनमा कसरी प्रेरित हुनुभयो ?
सानो छँदा धेरै गीत सुन्थेँ । त्यसबेला मेरो मनमा पनि गीतहरु खेल्थ्यो । र, कसरी गीतकार बन्ने होला भनेर सोच्थेँ । मनमा सिर्जना भएका गीतकार कापीमा उतार्थे । त्यतिकैमा गीतकार बन्ने रहर अधुरै बोकेर अमेरिका गएँ । अमेरिका पुगेपछि मात्र रहर पूरा गरेँ ।

अमेरिका जस्तो व्यस्त देशमा बसेर कुन समयमा गीत लेख्नुहुन्थ्यो ?
काम गरिरहेको बेला, ट्रेनमा हिँडिरहेको बेला पनि मेरो मनमा गीत फुथ्र्यो । अनि लगतै मोबाइल नोटबुकमा लेख्थेँ । एकदिन टे«नमा गुडिरहेकी थिएँ, त्यसैबेला मेरो मनमा गीत फुरेपछि लेख्न थालेँ, गीतमा भुलेपछि मैले ओर्लने स्टेशन नै बिर्सेछु । गीत सिर्जना गर्नेक्रममा यस्ता धेरै घटनाहरु भएका छन् ।

आफूलाई समाजसेवी पनि भन्नुहुन्छ । सेवाचाहिँ के गर्नुहुन्छ ?
विभिन्न सामाजिक संघसंस्थामा रहेका सामाजिक सेवाहरु गर्दै आएकी छु । अमेरिकामा हुँदा पनि याक्थुङ चुम्लङमा रहेर सामाजिक सेवा गरेँ । म याक्थुङ चुम्लुङ, न्यूयोर्कको दुई कार्यकाल उपाध्यक्ष भएँ । साथै, त्यहाँ विभिन्न नेपाली कम्युनिटीहरु छन् । ती संस्थाहरुमा पनि आवद्ध भएर सामाजिक सेवा गरेँ ।

कति वर्ष अमेरिका बस्नुभयो ?
१६ वर्ष बसेँ । त्यसपछि नफर्कनेगरी नेपाल आएकी हुँ । अरुको देशमा बसेर के गर्नु ? नेपालमै केही गरौँ भनेर आएकी हुँ । अब अमेरिका जान्नँ ।

सोह्र वर्ष बस्दा अमेरिकाबाट के सिक्नुभयो ?
धेरै कुरा सिकेँ । मुख्यतः अनुशासन र समयलाई कसरी सदुपयोग गर्ने भन्ने सिकेँ । अमेरिकामा एक–एक मिनेटको समयको हेक्का हुन्छ । नेपालमा जस्तो त्यहाँ कोही फुर्सदमा हुँदैन । त्यतिकै अमेरिका बनेको होइन रहेछ ।

अमेरिका नर्फकिनेगरी आउनुभयो । अब यहाँ के गर्ने सोच छ ?
ठूलो योजना छैन । तर, केही गर्नेछु । त्यसबाहेक गीत लेखनलाई निरन्तरता दिनेछु । नेपाल आएपछि भर्खरै एउटा गीत ल्याएकी छु । ‘एक्लौटी बजार’ बोलको गीतको भिडियो अहिले मेरो अफिसियल युट्यब च्यानलमा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्