काठमाडौं । वरिष्ठ अधिवक्ता तथा न्यायपरिषद्का सदस्य रामप्रसाद श्रेष्ठले न्यायाधीश राम्रा भए विकृति रोकिने बताएका छन् ।

इलामस्थित उच्च अदालत बार एसोसिएसन र कोसी प्रदेशअन्तर्गत मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा संयुक्त रूपमा शुक्रबार आयोजित ‘न्याय सम्पादनमा सरोकारवालाको भूमिका र प्रभावकारिता’ विषयक दुईदिने अन्तरक्रियामा उनले राम्रा न्यायाधीश नियुक्त गर्न नसक्दा न्यायालयमा विकृति बढ्नेतर्फ आफूहरू सचेत रहेको बताए ।
उनले न्यायक्षेत्रमा गलत काम गर्नेलाई सजायको व्यवस्था गर्नु आवश्यक रहेको औंल्याए । ‘न्यायाधीशको मापन गर्ने प्रमुख २ आधार फैसला र आचरण हुन्,’ उनले भने, ‘फैसला मात्र राम्रो भयो तर न्यायाधीशको आचरण सुध्रिएन भने पनि न्यायालय सुधार हुँदैन । इमानदार न्यायाधीश भए पनि राम्रो फैसला गर्न सकेन भने न्यायमा असर पुग्छ ।’
न्यायपरिषद्ले न्यायाधीश नियुक्ति मापदण्डसमेत निर्धारण गरेको भन्दै उनले न्याय सम्पादनमा न्यायालय मात्र होइन, कानुन व्यवसायी पनि उत्तिकै दक्ष र इमानदार हुनुपर्ने बताए । बारम्बार मन्त्रिपरिषद् हेरफेर हुँदा पनि न्याय सम्पादनमा असर पुगेको उनको भनाई थियो ।
अन्तरक्रियामा मेची क्षेत्रका चार जिल्ला इलाम, पाँचथर, झापा र ताप्लेजुङका न्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्ता सहभागी थिए ।











