काठमाडौं । धरानमा ‘कोकाहा खानेपानी’ सहयोगका लागि शनिबार साँझ च्यारिटी कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । सिल्भर इन्टरटेन्मेन्टद्वारा आयोजित कन्सर्टमा नेपालका चर्चित गायक, गायिकाहरुले खानेपानी सहयोगका लागि निःशुल्क गीत गाएका थिए । धरान-१२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजित कन्सर्टमा अहिलेसम्मकै ठुलो संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।

धरानमा यतिबेला मेयर हर्क साम्पाङले श्रमदान तथा देशविदेशबाट आर्थिक सहयोग जुटाएर कोकाहा खानेपानी अभियान चलाईरहेका छन् । धरानको वडा नं २० स्थित कोकाहा खोलाको पानीलाई छिमेकी नगर बराहक्षेत्र हुदै २५ किलोमिटर भन्दा बढी पाइप विछ्याएर ल्याउन श्रमदान भइरहेको छ । यो योजनाको लागी पाइप खरिदमै मात्र ३ करोड बढी खर्च हुने अनुमान छ । यही योजनाको लागी सहयोग जुटाउन धरानमा च्यारिटी कन्सर्ट भएको हो ।
कन्सर्टमा चर्चित गायक ‘राई इज किङ’ राजेशपायल राई, वरिष्ठ गायक दीप श्रेष्ठ, दीपक लिम्बु, प्रविशा अधिकारी, एकदेव लिम्बु, डिल्ली फोम्बो एण्ड ब्याण्ड, द वाकिङ क्लाउड ब्याण्ड, रोहित मास्के लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।

कन्सर्टमा मेयर साम्पाङले पनि गीत गाएका थिए भने वडा-२ का वडाअध्यक्ष रमेश राईले गीत गाएका थिए । त्यसक्रममा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघा पनि छमछमी चाने । धरान नृत्य कला प्रतिष्ठानले आकर्षक नृत्य प्रस्तुत गरेको थियो । अन्तिम प्रस्तुतीकोरुपमा गायक राजेश पायलको गीत सकिदा मध्यराती साढे १२ बजे बजिसकेको थियो ।

यस्तै, मेयर साम्पाङले निःशुल्क गीत गाउन आएका कलाकारहरु बिशेष आभार प्रकट गर्दै कार्यक्रम ऐतिहासिक भएको बताए । कोकाहा खानेपानी अभियानलाई कलाकारहरुले पनि साथ दिएको भन्दै जसरी पनि पानी ल्याएरै छोड्ने उनको भनाई थियो । कलाकारहरुले पनि मेयर साम्पाङ जनताको हितमा दिनरात खटिएको कारण आफुहरु पनि सहयोग गर्न धरान आएको बताए ।











