
काठमाडौं । प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् ।
नेकपा माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बिहान निवासमै पुगेर सभामुखसँग टीआरसी विधेयक पारित गर्ने विषयमा छलफल गरेका हुन् ।
संक्रमणकालीन न्याय निरूपण (टीआरसी) सम्बन्धी विधेयक फास्ट ट्र्याकबाट पारित गर्ने विषयमा सहमति जुटाउन अहिले शीर्ष नेताहरूबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि शनिबार दिउँसो सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा शीर्ष तीन दलका नेताबीच छलफल भएको थियो ।
उक्त छलफलमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले टीआरसी विधेयक फास्ट ट्र्याकबाट पारित गर्न आग्रह गर्दा ओलीले अस्वीकार गरेका थिए । उक्त विधेयक संसदीय समितिमा लैजानुपर्ने अडान ओलीको छ ।











