
काठमाडौं । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयम्सेवक तालिम सञ्चालन गरेको छ ।
बारा निर्वाचन क्षेत्र नं २, तनहुँ–१ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रभित्र पर्ने स्थानीय तहमा प्रतिवडा दुई जना मतदाता शिक्षा स्वयम्सेवक तयार गर्ने गरी यही चैत २७ र २८ गते तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन तनहुँ–१ मा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, चितवन–२ मा आयोगका सचिव गोकर्णमणि दुवाडी र बारा–२ मा उपसचिव सूर्यप्रसाद अर्यालले गरेका थिए ।
निर्वाचन हुने एक साता अघिदेखि सात दिनसम्म ती स्वयम्सेवकले मतदातालाई सहीरूपमा मत सङ्केत गर्ने तरिकाबारे जानकारी दिनेछन् । उनीहरूलाई सम्बन्धित पालिकाले दैनिक एक हजार भत्ता दिनेछन् ।











