सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जनाको मृत्यु भएको छ । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर बेपत्ता भएका खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ का तीन जना शेर्पा आरोहीको हिउँले पुरिएको अवस्थामा मृत्यु भेटिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।

उनका अनुसार सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका उनीहरुको बुधबार बिहान मृत्यु भएको हो ।
बुधबार बिहान एक्कासी हिम पहिरो आएपछि उनीहरु पुरिएका थिए । शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।











