
चितवन । चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो ।
जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए । भरतपुर महानगरपालिका-२९ चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान थालिएको हो ।
यहाँ जङ्गल सफारीका लागि अत्यधिक पर्यटक आउने गरेका छन् । समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । विगत तीन वर्षदेखिको अध्ययन अहिले आएर पूरा भएको उनले बताए । प्याराग्लाइडिङमा एक सय २० किलो तौलभन्दा कम तौल भएकालाई मात्र उडान भर्न सकिने उनले जानकारी दिए ।
चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरी प्याराग्लाइडिङको उडान सुरु गरिएको हो । कम्पनीका सञ्चालक शालिक दबाडीले पर्यटकका लागि नयाँ गन्तव्यको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ सुरु गरिएको बताए ।
यस क्षेत्रमा निकट भविष्यमा रोप साइक्लिङ, बन्जीजम्पजस्ता गतिविधि गर्ने योजना रहेको उनले बताए । उनले भने, ‘चौकीडाडाँमा चौकीडाँडा रिसोर्टसमेत निर्माण गरेर यहाँको पर्यटन प्रवद्र्धनमा काम गर्ने योजना छ ।’ विसं २०८० को सुरुआतीसँगै उडान सुरु गरिएको बताउँदै उनले चितवनको पर्यटन विकासमा टेवा पुग्ने बताए । यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उनले बताए । कम्पनीले उडानका लागि कविलास डाँडाबाट समेत अनुमति पाएको छ ।
प्याराग्लाडिङ उडानका लागि लाग्ने आठ हजार तोकिएकामा अहिले २५ प्रतिशत छुट दिएर छ हजार शुल्क लिइएको दबाडीले बताए । हाल नौवटा प्याराग्लाइडिङ उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान गर्न सकिने गरी तयारी गरिएको दबाडीले जानकारी दिए ।
नेपाल प्याराग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र राउतले विसं २०१५ मा विदेशीले यहाँ उडान भरेको बताए । पोखरा र यहाँमा छुट्टै विशेषता रहेको उनको भनाइ छ । पोखरामा ताल माथि उड्ने, हिमाल देखिनेलगायतका कारण छुट्टै रमाइलो रहेको बताउँदै उनले यहाँको नागबेली परेको सडक र त्रिशूली नदीमाथिको उडानले अझै महत्वपूर्ण रहेको बताए । उनले भने, ‘वाटर स्पोर्ट र एयर स्पोटलाई जोडिने ठाउँ रहेको छ ।’ चितवन हिँड्ने पर्यटकलाई एक दिनको प्याकेज रूपमा दिन सकिने बताए । यो प्याराग्लाइडिङका लागि उत्कृष्ठ गन्तव्यका रूपमा रहेको उनले बताए ।
प्याराग्लाइडिङका चालक सञ्जय गौतमले यहाँ उडानका लागि उपयुक्त हावा र स्थान रहेको बताए । विगत सात वर्षदेखि अनुभव सँगालेका चालकबाट उडान गरिने प्याराग्लाइडिङबाट डाँडाकाँडादेखि खोलानालाको सुन्दर दृश्य हेर्न सकिने भएकाले यहाँ उडानका लागि राम्रो रहेको उनले बताए ।
नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला आउने पर्यटकका लागि फरक अनुभव लिने गरी भरतपुरमा प्याराग्लाइडिङ सुरु भएको बताए ।
नेपाल आउने पर्यटकका लागि सबै खालका पर्यटक रमाउन सक्ने गरी भरतपुरमा पर्यटन प्रवद्र्धनको काम भइरहेको उनको भनाइ छ । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन गइरहेको भन्दै उनले साहसी पर्यटनका लागि प्याराग्लाइडिङ उपयुक्त हुने बताए । उनले भने, ‘पर्यटकको बसाइ लम्ब्याउनका लागि यो प्याराग्लाइडिङ उपयोगी हुन्छ ।’ पर्यटनका हिसाबले भरतपुर महानगर देशको महत्वपूर्ण पालिकाको रूपमा विकास हुँदै गएको उनले बताए ।
भरतपुर महानगरपालिकामा सफारीका लागि आउने पर्यटकदेखि धार्मिक हुँदै साहसिक पर्यटकका लागि समेत यो नयाँ गन्तव्य बन्ने भएको छ ।











