काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स २३औँ वर्षमा प्रवेश गरेको छ । २०५८ साल बैशाख २१ गते स्थापित कम्पनीले बिहीबार विभिन्न कार्यक्रम गरी २३औँ वार्षिकोत्सव मनाएको छ ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहकले गरेको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरु, मार्गनिर्देशन प्रदान गर्ने संचालक पदाधिकारी र कर्मचारीप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

साथै, उनले आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउन नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको सेवामा गुणस्तरियतालाई थप प्रभावकारी बनाउन समय सुहाँउदो योजना ल्याउने बताए ।
२२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले सातवटै प्रदेशबाट रक्तदान कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममार्फत कोशी प्रदेशको विर्तामोडमा ५६, मधेश प्रदेशको बिरगंजमा १६, बागमती प्रदेशको नारायणघाटमा ३९ र काठमाडौँमा ४१, गण्डकी प्रदेशको पोखरामा ५६, लुम्बिनी प्रदेशको बुटवलमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३२ र सुदूरपश्चिमकोे महेन्द्रनगरमा ४५ गरी कुल ३१० पिन्ट रगत संकलन गरिएको कम्पनीले जनाएको छ ।
‘किनकि जीवन अमुल्य छ’ भन्ने नारालाई आत्मसाथ गर्दै २२ वर्षदेखि नेपालीको घरदैलोमा जीवन बीमा सम्बन्धि सेवा प्रवाह गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्सको २०८० चैत मसान्तसम्ममा लगानी रु. १६२.२८ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिव १५८ अर्व रुपैयाँ संचित रहेको छ ।
कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना करिब १ सय ९२ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जनाएको छ ।











