Logo

इमान, नैतिकता र राष्ट्रवादका बीउ


Published On : 15 January, 2019


श्याम रिमाल । “म पहिलो पटक २०२५ चैत २५ गते प्रधानमन्त्री भएँ । त्यतिखेर नेपालको उत्तरतिरको सिमानामा भारतीय सैनिक मिसन थियो । नेपाल र चीनको बीचमा त अहिलेजस्तो वारि नेपाली र पारि चिनियाँ सुरक्षाकर्मी पो हुनुपर्ने, तर अचम्म ! नेपाल र चीनको सिमानामा भारतीय सैनिकहरु राखिएका थिए । त्यो विगतको नेतृत्वको ठूलो भूल थियोा । नेपाल र चीनको सिमानामा भारतीय सैनिक मिसन राख्नाले नेपाल र चीनबीचको मित्रतामा बाधा त दिन्थ्यो नै, स्वयम् भारत र चीनको मित्रतामा पनि खलल पथ्र्याे । प्रधानमन्त्री पदको शपथग्रहण गरेपछि नै मलाई लाग्यो–राष्ट्रको स्वाभिमान उठाउन सक्दो योगदान गर्ने बेला यही हो ।

श्याम रिमाल

०००
मैले एक दिन राजा महेन्द्रलाई बिन्ती गरेँ–‘…हाम्रो देश र चीनका बीचमा भारतीय सैनिक मिसन राखेको पटक्कै ठीक भएन । यो हटाउनुप¥यो ।’…राजाबाट हुकुम भयो,आफ्नो योजना स्पष्ट पार ।’…
मैले भनेँ–मैले भारतलाई नेपाल–चीन सीमाबाट उसको मिलिटरी मिसन हटाउन बाध्य बनाएरै छाड्नेछु । त्यसबाट मौसुफमा कुनै दबाब आयो भने काम सम्पन्न भइसकेपछि बरु मलाई प्रधानमन्त्रीबाट हटाइबक्से पनि हुन्छ ।’
०००
सन् १९६९को २६ जनवरी अर्थात् भारतको गणतन्त्र दिवसमा नेपाल सरकारका तर्फबाट शुभकामना सन्देश दिँदा मैले त्यो विषय उठाउने निधो गरेँ । मैले सम्झेसम्म शुभकामना सन्देशको निष्कर्ष यस्तो थियो–‘…यस सुखद घडीमा भारतले नेपाल–चीन सीमामा राखिएको आफ्नो सैनिक मिसन फिर्ता लैजानेछ भन्ने मेरो दृढ विश्वास छ । यसबाट नेपाल, भारत र चीन तीनवटै देशको हित हुनेछ ।’
…केही दिनपछि (भारतका) प्रधानमन्त्री इन्दिरा गान्धी नेपाल आइन् र मलाई सिधै प्रश्न गरिन्–प्रधानमन्त्रीज्यू ! यस्तो तपाईँले के वक्तव्य दिएको ? मैले लामो समय लिएर उनलाई कुरा बुझाउने प्रयास गरेँ । …नेपालमा भारतीय सैनिक मिसन रहनु भनेको नेपाललाई भारतले अविश्वास गरेको ठहर्ने कुरा हो ।…यस कदमबाट(हटाउँदा) नेपाल, भारत र चीनका बीचमा सम्बन्धको नयाँ आयाम नै सुरु हुनेछ ।’ अन्त्यमा उनी ‘कन्भिस’ भइन् ।… ” (नेपाल–भारत सम्बन्धःविगत, वर्तमान र भविष्य, सम्पा डा विजयकुमार पौडेल, माइलस्टोन प्रकाशन तथा प्रसारण लि., २०७३)
०००
कीर्तिनिधि विष्ट(१९८३–२०७४)लाई नेपाली जनताले सम्झने मूल कुरा भनेको तत्कालीन श्री ५ को सरकारको सचिवालय सिंहदरबार अग्निकाण्ड(विसं २०२६ असार २५) का बेला नैतिकताका कारण राजीनामा गर्नु र सन् १९५० को नेपाल–भारत सन्धिलाई निहुँ बनाएर आफ्नो सुरक्षा छाताभित्र राख्ने योजनान्तर्गत भारतले नेपालको उत्तरी सिमानामा राखेको मिशन नेपाली सीमाबाट हटाउन र सैनिक फिर्ता लान योगदान दिनु(विसं २०२६) र राजा ज्ञानेन्द्रले सत्ता सम्हालेका बेला मन्त्रिपरिषद्का उपाध्यक्षद्वयमध्ये एक हुनु पनि । चीन निकट भनेर चिनिएका विष्ट राष्ट्रवादी मानिन्थे । बहुदलीय व्यवस्था पुनःस्थापनापछि मातृकाप्रसाद कोइराला आदिसँग मिलेर राष्ट्रिय जनता पार्टी खोली काठमाडौँबाट उम्मेदवार बनेका विष्टले उल्लेखनीय मत भने ल्याउन सकेनन् । उनी नेपालको जलस्रोत र सिमाना आदि विषयमा भने सधैँ नेपाल पक्ष भएर बोलिरहन्थे । आफ्नो मृत्युपछि तामझाम नगर्न पनि उनले भन्न भ्याइसकेका रहेछन् ।
विष्टको निधनपछि उनका आफन्तहरुले एउटा चिटिक्कको कृति प्रकाशन गरेका छन्–‘कीर्तिनिधि विष्टःप्रखर राष्ट्रवादी नेपाल नेता’(नानु पन्त, कमला पाठक, रजनी उपाध्याय, सम्पादन सुषमा रिसाल सापकोटा, २०७५) पहिले डिल्लीरमण रेग्मीको नेपाली राष्ट्रिय काँग्रेसमा रही राणा विरोधी आन्दोलनमा सहभागी विष्टले सत्र सालको काण्डपछि ‘भूराजनीति र युगीन राजनीतिका जानकार’ भई राजा महेन्द्रसँग नजिकिएर तीन पटक(विसं २०२५, ०२८ र ०३४) प्रधानमन्त्री पड्काए । शुरुमा दौडाहा टोलीका अध्यक्ष, अनि सहायकमन्त्री हुँदै प्रधानमन्त्री भएका उनले राजा महेन्द्रको हरेक कदममा साथ दिएका थिए । महेन्द्रको निधन(२०२८)पछि वीरेन्द्रको राज्यकालमा पनि उनी प्रधानमन्त्री हुन सके । मुलुकको स्वतन्त्रता, राष्ट्रिय एकता, सबै जातजाति–धर्म–वर्णबीच सामूहिक सहकार्य, राजसंस्थाको संरक्षण, प्राकृतिक सम्पदाको समुचित उपयोग, सरकारबाट सबैलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था, भारत र चीनबीच समदूरीको सम्बन्ध, भारतको नेपालप्रतिको हेपाइको विरोध तर भारतको सुरक्षा चासोको नेपालबाट सम्बोधन, नेपालको जलप्रवाहबाट लाभान्वित भएवापत भारत नेपालप्रति अनुगृहीत हुनुपर्ने भावना, नेपाल–भारत दुवै देशका नदीको व्यवस्थापन तथा हक–दायित्वमा साझेदारी, चीनले नेपालप्रति गरेको आर्थिक र यसको स्वतन्त्रताप्रति देखाएको चासोमा कृतज्ञता, एक चीन नीतिको समर्थन, सहयोगको जुटाइ र राष्ट्रिय सार्वभौमिकताको सुरक्षालक्षित भई द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय सम्बन्ध विकासजस्ता अवधारणा राखी राजा वीरेन्द्रसँग पनि उनले काम गर्ने मौका पाए । वीरेन्द्रकालमा उनले बेरोजगार स्नातकलाई विनाधितो रु ५० हजार ऋण उपलब्ध गराउने, विवाह–व्रतबन्ध–चाडपर्वमा फजूल खर्चमा रोक, राजधानीका सडकको विस्तृतीकरण रेखाङ्कन र योजना स्वीकृत गराए तर क्षतिपूर्ति र बस्ती स्थानानान्तरणका लागि अर्थाभावले काम गर्न सकेनन् । सिंहदरबार आगलागीपछि त सत्ता छाडिहाले । राजाले राजीनामा नगर्न भन्दा उनले जवाफ दिएका थिए,“नेपाली समाजमा ह्रासोन्मुख नैतिक आचरण उकास्न यस किसिमको कदम आवश्यक छ ।”
पछि २०३४मा प्रधानमन्त्री हुँदा भारतसँग छुट्टाछुट्टै व्यापार तथा पारवहन सन्धि कायम गराउन सफल भए । चीन भ्रमणका क्रममा चिनियाँ नेताहरु माओत्सेतुङ र चाउ एनलाई भेटी चीनसँगको सम्बन्ध बलियो बनाउन दिएको आश्वासनबाट नेपालमा नयाँ नयाँ कलकारखाना स्थापना भयो । चिनियाँ सुधारवादी नेता देङ सियाओ फेङको नेपाल आगमनमा प्रोटोकल बिर्सेर आफैँ स्वागत गर्न गए । सत्तामा नहुँदा पनि उनले भुटानी शरणार्थीको ससम्मान फिर्ता गर्न माग गरे भने तराईमा गैरनेपालीलाई नागरिकता दिइएकामा विरोध गरे । भारतीय नाकाबन्दीको सख्त विरोध गरे भने नेपाली सीमा क्षेत्र लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने भारत चीन सम्झौतापछि सो गल्तीमाथि पुनःविचार गर्न चीनको ध्यानाकर्षण गरिरहे ।
नेपालको अस्तित्व बचाउने विषयमा सदैव सचेत र प्रयासरत विष्टले भावी पुस्तालाई पनि सदैव नेपाली भएर बाँच्न, नेपाल आमाको माया गर्न र मुलुकलाई विदेशीको क्रिडास्थल बन्न नदिन आग्रह गरेका छन् । मुलुकको स्वतन्त्रता जोगाएवापत निरङ्कुश जङ्गबहादुर राणाको समेत राष्ट्रवादी छविका रुपमा पुनःमूल्याङ्कन हुँदै गरेको अहिलेका अवस्था र ओली राष्ट्रवादले समग्र राजकीय चुनावै जित्नै र मुलुक हाँक्ने अवस्थामा गणतन्त्रमय नेपालका बुद्धिजीवीले पञ्चायतकालीन मण्डले राष्ट्रवादका हिमायती विष्टलाई हेर्दा उनमा केही सकारात्मक पक्ष जरुर पाउन सक्छन् । कीर्तिबाबुको अवसानमा उनलाई राष्ट्रवादी संज्ञा दिन कुनै पत्रिका पनि त चुकेनन् जस्तो लाग्छ । कृतिले भित्री कुराहरु त्यति खुलाएको छैन । यसैले अनुसन्धानमा रुचि राख्नेलाई यसले त्यति धीत मार्न सक्दैन । आवरणपृष्ठमा लैनसिंह बाङ्देलले बनाएको विष्टको पोट्रेट निकै सुहाउँदिलो भने छ ।
[email protected]

प्रतिक्रिया दिनुहोस्