Logo
Logo

नेकपा र नेकाको लामाे निन्द्रा





देशका दुई ठुला पार्टीहरुको निन्द्रा शुरु भएको छ । याे निँद्रा मात्रै हाे या मृत्यु यात्रा हाे भन्ने टुँगीएकाे छैन । मृत्यु यात्रा दुखद हो । तर त्यो त शुरु भैसकेकाे छ ।

नेकपाको सरकार त छ तर नेकपाले सत्तापक्षीय पार्टीको रुपमा आफ्नो भूमिका निभाउन छोडेकोछ । जब कुनै संरचनाले काम गर्न छोड्छ, त्यसैलाई मृत्यु भनिन्छ । नेकपाले पनि जनपक्षीय काम गर्न छोडेकोछ । त्यसैले नेकपाको पनि मृत्युयात्रा शुरु भएको भनिएको हो ।

नेकपाको काम के हो ? पहिलो जनताको पक्षमा सरकार चलाउने । दोश्रो जनताका समस्याहरु समाधान गर्न नीति तथा योजना वनाउने र सरकार मार्फत कार्यान्वयन गर्ने । तेश्रो, जनताका कुरा सुन्ने र सरकार मार्फत समाधान गर्ने । चौथो, कम्युनिष्ट पार्टीको नाताले कम्युनिजम सम्म पुग्ने वाटो र तरिकाहरु तय गर्ने, त्यसको प्रचार गर्ने, त्यसलाई सरकार मार्फत कार्यान्वयन गर्ने । पाँचौं, कम्युनिष्ट पार्टीको रुपमा वर्ग संघर्ष चलाउने, वर्ग संघर्षमा विजय प्राप्त गर्ने र समाजवाद हुँदै साम्यवादको यात्रा गर्ने । तर नेकपाले यी कुनैपनि कामहरु गर्न छोडेको छ । त्यसैले यसको मृत्युयात्रा शुरु भएकोछ ।

वर्तमान सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवले दृष्टि संगकाे अन्तरवार्तामा भनेका छन्
नढाँटी भन्ने हो भने, दुईतिहाइ बहुमतसहित यत्रो प्रगतिशील शक्तिले सरकार चलाइरहेको अनुभूति गर्न जनताले पाएका छैनन् । सरकार कै उपप्रधानमन्त्रीकाे मुल्यांकन यस्ताे छ भने जनताकाे के हाेला ?

नेकपाको संगठन त छ, तर ज्यान छैन, आत्मा छैन, सास लिन र छोड्न विस्तारै विर्सन थालेको छ । त्यसैले यसको मृत्युयात्रा शुरु भएकोछ । नेकपाको टाउको, अझ टाउकोको पनि एक भाग —सचिवालय र स्थायी समिति मात्रै चलेको छ । नेकपाको शरिरका अरु अंगहरु चलेको छैन । त्यसैले यसको मृत्युयात्रा शुरु भएकोछ ।

नेकपाले आफुलाई माक्र्सवादी लेनिनवादी दावी गर्दछ । माओवादलाई छलफलको विषय वनाएको छ । तर माक्र्सवाद लेनिनवाद अनुसार कामहरु गरेको छैन । त्यसैले नेकपाको मृत्यु यात्रा शुरु भएकोछ ।

नेपाली कांग्रेसको हालत पनि त्यस्तै छ । नेकाले प्रतिपक्षको धर्म निभाएको छैन । यो त अझ सत्ता पक्ष जस्तै छ । देशमा ठुला भ्रष्टाचार भैरहेको समाचार आइरहँदा यसले भ्रष्टाचारमा राष्ट्रिय सहमति गरेको समाचार पनि आइरहेकोछ । त्यसैले ठुल्ठुला भ्रष्टाचार काण्डहरुको मुकदर्शक वनेकोछ नेका । त्यसैले यसको मृत्युयात्रा शुरु भएकोछ ।

जनताका समस्याहरुलाई लिएर सदन र सडक तताउने र सरकारलाई विउँझाउने जिम्मा प्रतिपक्षको हो । तर नेका उल्टै सुतिरहेकोछ । त्यसैले नेकाको मृत्युयात्रा शुरु भएकोछ ।

जबसम्म यी दुई दलहरुको प्रतिस्पर्धामा आउने दलहरुको जन्म हुँदैन, यी दलहरु नै सत्ताको कुर्सीमा रहने हुन्छ । जतिसुकै मृत्युयात्रा भएपनि विकल्पको अभावमा यी दलहरु सच्चिने हुँदैन ।

अहिले वैकल्पिक दलहरुको मैदान खाली छ । पुराना दलहरुलाई सरापेर मात्रै समस्या हल हुृँदैन । नयाँ युवाहरुले जनपक्षीय राजनीतिको खाली मैदानमा सक्रियता नदेखाए सम्म देशले तीब्र गतिमा विकास गर्ने सम्भावना अब समाप्त प्राय भएकोछ ।

पुष्पलाल श्रेष्ठ र विपि कोइरालाहरुले राजनीति शुरु गर्दा उहाँहरु भरखरैको युवा उमेरका हुनु हुन्थ्यो । ३० वर्ष भन्दा पनि कम उमेरका । तसर्थ अहिलेको विशाल युवा पंक्तिवाट नयाँ वैकल्पिक जनपक्षीय राजनीतिको मैदानमा सक्रिय सहभागीता समयको माग वनेकोछ ।

रवीन्द्र श्रेष्ठ ।

प्रतिक्रिया दिनुहोस्