Logo
Logo

ओलीलाई सोध्नु- मदनको हत्या भयो कि दुर्घटना ?




नेपाली राजनीति इतिहासको गर्भमा रहेको एउटा रहस्यमय घटना हो, दासढुङ्गा । सर्वाधिक चर्चा, चासो र बहस हुने घटना हो यो । जुन घटनाका बारेमा मत विभाजित छ । दासढुङ्गालाई कसैले दुर्घटना भन्छन् त कसैले रहस्यमय हत्या ।

२०५० जेठ ३ गते पोखराबाट चितवन आउँदै गर्दा दाशढुङ्गामा जीप दुर्घटनामा परि एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । तत्कालीन समयका प्रभावशाली नेता तथा विचारक हुन् मदन भण्डारी । भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ अघि सारेपछि पश्चिमाहरूले उनलाई कार्ल माक्र्सको संज्ञा दिएका थिए । तर, बिडम्बना ४० वर्षकै उमेरमा उनले संसार छोड्नुपर्याे ।

नेपालमा बहस हुने समाजवादी विचारधारा मध्यको लोकप्रिय समाजवादी विचारधारा हो, जबज । जसले नेपालको लोकतान्त्रिक आन्दोलनलाई उचाईमा पुर्याउन ठूलो योगदान दियो ।

सादा जीवन, उच्च विचारका धनी थिए, मदन भण्डारी । उनी नेपाली राजनीतिमा विकृति र विसंगतिका विरूद्ध आगो ओकल्ने नेता थिए । उनले अघि सारेको बाटोमा आज मुलुक हिडिरहेको छ । मदन भण्डारीको नाम भजाएर सत्ता, शक्ति र सम्पत्ति कमाउने पनि छन् । तर, बिडम्बना कसैले पनि दासढुङ्गा घटनाको सत्य तत्थ्य छानविन गर्ने आँट गरेनन् ।

दासढुङ्गा घटनाको सम्झनामा एमालेजनहरू र एकीकृत समाजवादी पार्टीमा रहेका नेता कार्यकर्ताहरूले हरेक वर्षको जेठ ३ गते विभिन्न कार्यक्रम गरेर मदन-आश्रित स्मृति दिवस मनाउँछन् । त्यतिमात्रै होइन, तीन दशकदेखि एमाले धारका कम्युनिष्टहरूले दासढुङ्गा घटनालाई ‘सुनियोजित हत्या’ भन्दै आएका छन् । जो आजको दिनसम्म पनि उनीहरूले पुष्टि गर्न सकेका छैनन् ।

यहाँनेर भुल्न नहुने कुरा के हो भने, एमाले धारका नेताहरू पटकपटक सत्तामा पुगे । उनीहरूले मदन-आश्रितको निधनबारे सिन्को भाचेनन् । स्वयं मदनका धर्मपत्नी विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपति पदमा विराजमान भए ।

उक्त घटनाबारे एमालेका तर्फबाट बनेको छानबिन समितिका संयोजक केपी ओली तीन पटक प्रधानमन्त्री बने । मदन भण्डारीको निधनलाई हत्या नै हो भनेर यी दुईजना पात्रले खुब भाषण गरे । तर, सत्तामा पुगेको बेला बिर्सिए ।

जबजको नारा भजाएर सत्ता र शक्तिमा पुगेका केपी, विद्याहरू आज पनि दासढुङ्गा घटनालाई हत्या नै भन्छन् । बिडम्बना सत्य तत्थ्य पत्ता लगाउन कुनै पहल नै गरेनन् । मदनको आदर्शलाई झुक्न नदिने प्रण गर्छन् । तर, व्यवहारमा मदन भण्डारीले अघि सारेका जबजका मुलभूत मान्यताहरूमाथि लात हानिरहेका छन् । जबजका मान्यतालाई पोलेर खाने काम गरिरहेका छन् ।

उक्त घटनाको एक मात्र साक्षी चालक अमर लामालाई उक्त घटनाको १० वर्षपछि २०६० साल साउन १२ गते काठमाडौँमा गोली हानी हत्या गरिएको थियो । अमर हत्याको पनि कुनै प्रमाण बाहिर आएन । अमरको हत्यासँगै मदन–आश्रितको निधन सर्वथा रहस्यमय बन्यो ।

जबजको विरासत धानेको दाबी गर्ने ओलीहरूले यसरी रहस्यम बनेको घटनालाई उचालेर सेन्टिमेन्ट क्याच गर्ने र फाइदा लिने काम गरिरहेका छन् । एमालेको अध्यक्ष र नेकपाको अध्यक्षसँगै शक्तिशाली सत्ताको प्रधानमन्त्री बन्ने मौका र अवसर पाएका ओली आफैले अध्ययन अनुसन्धान गरेको छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्छ कि पर्दैन ?

झन् रहस्यमय दासढुङ्गा
दाशढुंगा घटनाको सत्य तत्थ्य पत्ता लगाउन ४ वटा आयोग गठन भए । सरकारको तर्फबाट पूर्वन्यायाधीश प्रचण्डराज अनिलको नेतृत्वमा आयोग बन्यो । एमाले पार्टीको तर्फबाट तत्कालीन स्थायी समिति सदस्य केपी ओलीको अध्यक्षतामा ओली आयोग बन्यो ।

जनस्तरबाट पद्मरत्न तुलाधारको संयोजकत्वमा जनआयोग बन्यो । अनिल आयोगको प्रतिवेदन चित्त नबुझेपछि एमालेले देशब्यापी आन्दोलन गरेपछि तत्कालीन वहालवाला न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा चौथो आयोग पनि बन्यो ।

तर, यी कुनै पनि आयोगले सत्य बाहिर ल्याउन सकेनन् । ओली आयोगले तयार पारेको प्रतिवेदनमा के थियो ? त्यो कसैले थाहा पाएनन् ।

एमालेले ओलीको संयोजकत्वमा बनाएको छानबिन समितिले तयार गरेको प्रतिवेदन अहिले कहाँ छ ? कसैलाई थाहा छैन । भनिन्छ, तत्कालीन केन्द्रीय कार्यालय बल्खुको लाइब्रेरीमा समेत थिएन । दासढुङ्गा घटनाका एक मात्र जीवित प्रमाण मानिने अमर लामालाई सुरूका दिनमा सवैले शंका गरे । हत्याका मतियार भएको आम आरोप लगाए । त्यसबेला मदन पत्नी विद्याले अमरलाई शंका नगर्न अपिल गरिन् ।

एक साप्ताहिकको अन्तरवार्तामा उनले भनेका थिए, ‘अमर हाम्रो घरको सदस्य जस्तै हो, छोरा जस्तै हो ।’ जब अमर लामाको हत्या भयो, त्यसपछि भण्डारीले ‘एउटा प्रमाण थियो, त्यो पनि सके’ भनेर नयाँ प्रतिक्रिया दिए ।

अमरलाई खेदिखेदी हत्या गर्नुको कारण पनि रहस्यमयी नै छ । त्यसको पनि छानबिन भएन । यतिमात्रै होइन, एमाले पटक पटक सत्तामा पुग्यो । सत्ता साझेदार बन्यो । तर, दासढुङ्गा घटनाबारे छानबिनको ‘छ’ समेत उच्चारण गरेन । मदन–आश्रितको रहस्यमय निधनको डेढ वर्षपछि ओली गृहमन्त्री र माधवकुमार नेपाल रक्षामन्त्री बनेका थिए ।

विद्यादेवी भण्डारी पटकपटक मन्त्री हुँदै दुई कार्यकाल राष्ट्रपति बन्दा पनि दासढुङ्गा प्रकरणबारे कुनै छानबिन गर्ने शब्द उच्चारण गरेनन् । यस हिसाबले दासढुङ्गा प्रकरण थप रहस्यमय बनेको छ ।

अन्त्यमा, मदन-आश्रितको नाम भजार सत्ता, शक्ति र सम्पत्ति कुम्ल्याउने एमालेका नेता कार्यकर्ताहरूले मदन–आश्रितको शालिकमा चढाउने पुष्पगुच्छाले मात्रै सच्चा श्रद्धाञ्जली हुन सक्दैन । एमालेजनले केपी ओलीलाई मदन भण्डारीको हत्या हो कि दुर्घटना ? भनेर सोध्दैनन् ।

विद्यादेवी भण्डारीलाई राष्ट्रपति हुँदा उक्त घटनाबारे किन छानबिन भएन ? भनेर कोही सोध्न सक्दैनन् । उक्त घटनालाई थप रहस्यमय बनाउने काम केपी–विद्या र एमालेहरूबाट भइरहेको छ । अब जनताले केपी-विद्यालाई जोडले सोध्ने बेला भयो, ‘मदन–आश्रित’को हत्या हो कि दुर्घटना ? उक्त घटनालाई थप रहस्यमय बनाउने काम तिमीहरूले किन गरिरहेका छौँ ?

प्रतिक्रिया दिनुहोस्