Logo
Logo

मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने


6.7k
Shares

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन् । साउदी अरेबियाको क्लब अल-हिलालको आकर्षक प्रस्ताव अस्वीकार गर्दै मेस्सी इन्टर मियामी जाने भएका हुन् ।

फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी) छाड्नअघि नै उनलाई अल-हिलालबाट आकर्षक प्रस्ताव आएको थियो । तर, अल–हिलालको प्रस्ताव अस्वीकार गर्दै मेस्सी इन्टर मियामी जाने भएको बीबीसीले जनाएको छ ।

मेस्सीले अब पहिलो पटक युरोपबाहिरको क्लबमा आबद्ध रहेर खेल्नेछन् । उनी अर्को सिजनका लागि युरोपमा रहन चाहे पनि सन्तोषजनक प्रस्तावहरू प्राप्त नभएपछि इन्टर मियामी वा अल–हिलालमात्रै विकल्प थियो । उनीसँग पहिले नै मियामीमा एउटा घर छ जुन उनले अहिले भाडामा दिएका छन् ।

अहिले मेस्सीले पीएसजी छाडिसकेका छन् । उनी सन् २०२१ मा पीएसजीमा आबद्ध भएका थिए । उनले पीएसजीबाट खेल्दा २ सिजनमा २ पटक नै फ्रेन्च लिगको उपाधि जितेका थिए ।

मेस्सीले पीएसजीका लागि ७४ खेलमा ३२ गोल र ३४ असिस्ट गरेका छन् । मेस्सीले हालै मात्र फ्रेन्च लिगको उपाधि जित्दै ड्यानी आल्भेससँगै सबैभन्दा धेरै ट्रफी जित्ने कीर्तिमान (४३ ट्रफी) बराबरी गरेका थिए ।

मेस्सीलाई बार्सिलोनाले पुनः फर्काउन लागेको चर्चा पनि हुँदै आएको थियो । खेलाडी जीवनमा सबै खाले उपलब्धि हात पारेका मेस्सीले अर्जेन्टिनालाई फिफा विश्वकप उपाधि जिताएपछि उनको चर्चा थप चुलिएको छ ।

३५ वर्षीय मेस्सीले सात पटक विश्वको सर्वोत्कृष्ट खेलाडीको बालोन डि ओर अवार्ड जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्