
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक जारी छ । सिंहदरबारमा केहि बेरअघि सुरु भएको बैठकमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रष्टीकरण लिने काम भइरहेको छ ।
कार्कीमाथि २९ जनाले उजुरी दिएका छन् । समितिका सदस्यहरुले उजुरीका विषयलाई लिएर कार्कीलाई प्रश्न सोधिरहेका छन् भने कार्कीले आफ्नो प्रष्टिकरण दिइरहेका छन् ।
सो क्रममा कार्कीले आफूलाई सर्वोच्च अदालत जाने मनै नभएको प्रष्टीकरण दिएका छन् । ‘मलाई सर्वोच्च अदालतमा जान मन थिएन । तर तत्कालीन प्रधानन्यायाधीशले तपाइँको भूमिका अब न्यायपालिकाले खोजेको छ भन्नुभयो, उहाँले पटक पटक अनुरोध गर्नुभएपछि म सर्वोच्च गएको हुँ,’ उनले भने ।
न्यायमा ढिलाइ भएको आरोपप्रति उनले जनशक्ति नै कम भएको दाबी गरे । उनले भने –‘हामीले लामो समयदेखि पूर्ण सङ्ख्यामा न्यायाधीश पाउन सकेका छैनौ । अझै ५ जना न्यायाधीशको पद खाली छ ।’
न्यायालय सुधारका लागि अनौपचारिकहरूमा प्रत्येक दिन फुलकोर्ट बस्ने गरेको उनले बताए । तत्कालै अटोमेसन लागू गर्न अझै धेरै पूर्वाधार अभाव देखिएको उनको दाबी छ ।











