
पाल्पा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले रामपुर अस्पताललाई पाँचवटा डायलासियस मेसिन हस्तान्तरण गरेको छ ।
पचास शय्याको यस अस्पतालको आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले पाँचवटा डायलासिस मेसिन र एक सेट आरओ प्लान्टसहित अठहत्तर लाख ७३ हजार पाँच सय ९९ बराबरको सामग्री प्रदान गरेको हो ।
महाशाखा प्रमुख डा सर्वेश शर्माले आइतबार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल र मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियारलाई हस्तान्तरण उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
कालीगण्डकी करिडोरसँग जोडिएकाले पछिल्लो समय यस अस्पतालमा बिरामीको चाप बढ्दो छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (सुस्ता पूर्व) का बासिन्दाले सेवा लिने ठूलो अस्पतालका रुपमा रामपुर अस्पताल रहेको छ ।
बिरामीलाई स्वास्थ्योपचारमा सहज सेवा दिन र डायलासिस गर्ने बिरामीलाई रामपुर अस्पतालबाटै सेवा उपलब्ध गराउन मागका आधारमा सामग्री उपलब्ध भएको अस्पताल विकास समितिका अध्यक्ष ढकाल बताउँछन् । हाल यस अस्पतालमा दैनिक तीन सय ५० भन्दा बढी बिरामीले सेवा लिँदै आइरहेका छन् ।














