Logo
Logo

प्याजको मूल्य घट्यो, किलोको ५२ रुपैयाँ



काठमाडौं । भारतबाट प्याजको आयात पुनः सुरु भएपछि भाउ पनि घटेको छ । आयातमा १३ प्रतिशत भ्याट लागेपछि व्यवसायीहरुले प्याज आयात गर्न छोडेका थिए ।

आयात रोकिएपछि बजारमा प्रतिकेजी ४५ रुपैयाँमा खरिद गर्दै आएका उपभोक्ताले प्रतिकेजी एक सय रुपैयाँभन्दा बढी मूल्य तिर्नुपर्ने अवस्था आएको थियो ।

कालिमाटी फलफूल तथा तरकारी बिकास समितिका सुचना अधिकारी विनय श्रेष्ठका अनुसार सोमबारदेखि कालिमाटी तरकारी बजारमा भारतबाट प्याज भित्रिने थालेको हो । हिजोमात्र बजारमा ५६ टन प्याज भित्रिएको उनले बताए ।

आयात भएसँगै कालिमाटी बजारले आजदेखि दैनिक मूल्यसूचीमा प्याज पनि समावेश गरेको छ । प्याजको मूल्य प्रतिकेजी ५२ रुपैयाँ तोकिएको छ । यसअघि भ्याट लागेका कारण कालिमाटी बजारमै प्याजको मूल्य ६० रुपैयाँ पुगेको थियो ।

जेठ २० गतेदेखि प्याजको आयात ठप्प भएको थियो । व्यवसायीहरुले आयात महंगो हुने भन्दै आयात गर्न छोडेका थिए।व्यापारीहरुले स्टक सकिएको भनेपछि कालिमाटी बजारले असार ३ गतेसम्म प्याजको मूल्य कायम गरेको थिएन । यस्तै बजारले सार्वजनिक गर्ने दैनिक मूल्य सूचीबाट प्याजलाई हटाइएको थियो ।

हाल भने स्वदेशी प्याज बजारमा आउन छोडेको सुचना अधिकारी श्रेष्ठको भनाई छ । देशकै ठूलो तरकारी बजारमा प्याजको स्टक सकिएको भन्दै खुद्रा व्यापारीहरुले प्याजको मूल्य अत्याधिक बढाएर प्रतिकेजी एक सय ३० रुपैयाँसम्म पुर्याएका थिए । व्यवसायीहरुले पुनः आयात गर्न थालेपछि प्याजको मूल्य पुरानो कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्