Logo
Logo

एकदिवसीय विश्वकप छनोटमा श्रीलंकाको जित


3.5k
Shares

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटमा श्रीलंकाले ओमानलाई पराजित गरेको छ । जिम्बाब्वेको बुलवायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा आज भएको समूह बी को खेलमा श्रीलङ्काले ओमानलाई १० विकेटले पराजित गरेको हो । आमानले दिएको ९९ रनको चुनौतीलाई श्रीलंकाले १५ ओभरमा बिना विकेट पूरा गर्‍यो ।

श्रीलङ्काका लागि दिमुथ करुणारत्नेले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ६१ बल खेल्दै आठ चौका बनाए । त्यस्तै पथुम निस्साङकले ३९ बलमा पाँच चौकाको सहयोगमा ३७ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटिएको थियो । ओमानका लागि आयान खानले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ६० बल खेल्दै चार चौकाको मद्दतमा ४१ रनको योगदान दिएका हुन् ।

यसैगरी ओमानका जतिन्दर सिंहले २१ तथा फयाज बुट्टले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका वानिन्दु हसरङ्ग एक्लैले पाँच विकेट लिए भने लाहिर कुमाराले तीन विकेट लिए । त्यस्तै कसुन रजितले एक विकेट झारे ।

यस जितसँगै लगातार दोस्रो जित दर्ता गराएको श्रीलंकाले चार अङ्क जोडेको छ । श्रीलंकाले पहिलो खेलमा युएईलाई हराएको थियो । तीन खेल खेलको ओमानको पनि समान चार अंक नै रहेको छ । यसअघि ओमानले आयरल्यान्ड र युएईलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्