
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादी केन्द्रले यही असार २३ गते प्रज्ञा प्रतिष्ठान (कमलादी) मा बिहान ११ बजे बस्नेगरी बैठक बोलाएको हो ।
बैठकका लागि २ महिने अभियानको समीक्षा प्रतिवेदन तथा स्थानीय, प्रदेश र केन्द्रीय चुनावको समीक्षा प्रतिवेदन पेस गर्ने एजेन्डा तय गरिएको महासचिव देव गुरुङले जानकारी दिए ।
साथै बैठकले समाजवादी मोर्चाका विषयलाई अनुमोदन गर्ने उनले बताए । यही असार ५ गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरिएको छ ।
यस्तै, पूर्वमाओवादी घटकसँग एकताको विषयले पनि केन्द्रीय समितिको बैठकमा प्रवेश पाउने महासचिव गुरुङको भनाइ छ ।केन्द्रीय समितिको बैठकका लागि ठोस एजेन्डा तय गर्न केही दिनमै सचिवालय र स्थायी समिति बैठक बस्नेछ ।
माओवादी केन्द्रले तल्ला तहका समितिलाई पार्टी केन्द्रलाई दिनुपर्ने सुझाव लेखेर असार १५ गतेभित्र पठाउन भनेको छ ।










