काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालयको संरचनालाई केही समयमित्रै बदल्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बजेटका बिभिन्न शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयमा सचिवहरु उत्साहित हुनुपर्ने ठाउँमा झोक्राएर बस्नुपर्ने स्थिति छ भन्ने कुरामा आफ्नो ध्यान गएको बताउँदै केही समयभित्रै यो संरचनालाई बदल्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयबाट सन्तुष्ट नरहेको र सन्तुष्ट हुनका लागि केही नयाँ गर्न चाहेकाले राम्रा सुझावहरु पालना गर्ने जिकिर गरे । उनले आफूले विकासको तुफान आइसक्यो नभनेको भन्दै अहिले जसरी काम सुरु भएको छ, त्यही अनुसार अघि बढ्ने हो भने तुफान आउन सक्ने जिकिर गरे ।
उनले योजना आयोगलाई अझ प्रभावकारी बनाउन राजनीतिक तहमा समेत छलफल सुरु गरिसकेको बताए । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा इपिजी प्रतिवेदनका बिषयमा आफले पहल गरेको भन्दै छिटै बुझ्ने विश्वास व्यक्त गरे । उनले ठूलो आयोजनाहरुमा भ्रष्टाचार र लागत बढ्दै गएकोप्रति गम्भीर चासो र चिन्ताको बिषय भएको बताए ।














